सन् २०१४ मा एक शोमा अनुपम खेरले शाहरुख खानलाई सोधेका थिए, 'तपाईंपछि यस्तो चर्चा, प्रसिद्धि कसको नाममा होला भनेर कहिलेकाँही चिन्ता लाग्छ ?'
शाहरुखले मुस्कुराउँदै जवाफ दिए, ‘म बलिउडको अन्तिम स्टार हुँ ।’
शाहरुखको यो वाक्यको अर्थ यो थियो- उनीपछि ठूला स्टार कोही हुने छैनन् । केही हदसम्म त्यो सत्य पनि हो । ३० वर्षको फिल्मी करियरमा शाहरुखले धेरै हिट फिल्म दिए । आज आफ्नो ५७ औं जन्मदिन मनाइरहेका शाहरुखलाई विश्वको तेस्रो धनी फिल्म स्टार मानिन्छ । उनको कुल सम्पत्ति ५१०० करोडभन्दा माथि छ ।
अहिलेसम्म हामीले शाहरुखको जीवनलाई त्यहाँबाट पढ्यौँ जहाँबाट टिभी सिरियल फौजीमा उनको संघर्ष सुरु भएको थियो । आज हामी शाहरुखको त्यो जीवन पढ्नेछौं, जुन मुम्बईबाट होइन दिल्लीबाट सुरु हुन्छ ।
शाहरुखकी आमा लतिफ फातिमा मजिस्ट्रेट (न्यायीक अधिकारी) थिइन् भन्ने कुरा धेरैलाई थाहा छैन । उनी आफ्नो समयको सबैभन्दा सफल मुस्लिम महिलामध्ये एक थिइन्। उनी सामाजिक कार्यमा धेरै अगाडि थिइन् र पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीसँग घनिष्ठ सम्बन्ध थियो । आमा जति उच्च समाजकी हुनुहुन्थ्यो, बुबा मीर ताज त्यति नै ग्राउन्डेड व्यक्ति हुनुहुन्थ्यो । पेशावरबाट आएका उनी दिल्लीमा चिया बेच्ने गर्थे । एक दुर्घटनाले दुवैको भेट गरायो । विवाहसमेत भयो । र, त्यसपछि शाहरुख खान नामका स्टार बन्ने कहानी सुरु भयो ।
विभिन्न किस्सा, विवाद, गसिप र हिट–फ्लप फिल्मभन्दा भिन्न शाहरुख खानको जीवनको त्यो हिस्साबारे जानकारी लिऔँ जुन धेरै कमलाई थाहा छ ।
बुबा मीर ताजलाई धेरै भाषा आउँथ्यो
शाहरुख खानलाई इन्डस्ट्रीका किङ अफ रोमान्स भनिन्छ । तर, उनले यो विशेषता आफ्ना पिता मीर ताज मोहम्मदबाट पाएका थिए । ६’२ कद भएका मीर ताज पेशावरको पठान थिए जो स्वतन्त्रताको लडाईंको युवा स्वतन्त्रता सेनानीमध्ये एक थिए । मीर ताजको सेन्स अफ ह्युमर उत्कृष्ट थियो । उनले एमए, एलएलबी पढेका थिए । उनलाई पर्सियन, संस्कृत, पश्तो, पञ्जाबी, हिन्दी, अंग्रेजीसमेत थुप्रै भाषा आउँथ्यो । उनी वकिल थिए तर वकालतमा असफल भएपछि फर्निचर व्यवसाय, यातायात, मट्टितेल कारोवारको व्यवसाय गरे । भारत र पाकिस्तानको विभाजन पछि, मीर ताज परिवारसँग दिल्ली गए, जहाँ उनको विलिङ्गन अस्पतालको पछाडि एउटा चिया पसल थियो ।
फिल्मी छ शाहरुखका आमा–बुवाको प्रेम कहानी
एक दिन मीर ताज आफ्ना साथीहरूसँग दिल्लीको इन्डिया गेटमा घुम्न गए । उनले त्यहाँ कार दुर्घटना भएको देखे । कार उल्टो गरी पल्टिएको थियो, जसमा लतिफ फातिमा, उनका दिदीबहिनी र बुबा थिए । चालक गाडी छोडेर फरार भएको थियो भने सबै घाइते अवस्थामा थिए । मीर ताजले आफ्नो साथीको सहयोगमा त्यो गाडीलाई सीधा पारे । रगतको आवश्यकता परेको बेला रगत समूह मिल्दा मीर ताज आफैले रगत दिए । उनको परिवारसँग दोस्ती भयो र आउजाउ सुरु भयो ।
एक दिन मीर ताज लतिफ फातिमाको घर पुगे । उनका बुवाले सोधे, 'हाम्रो कान्छी छोरीसँग बिहे गर्ने ?' मीर ताजले भने, ‘होइन, म जेठीसँग बिहे गर्छु, जसलाई मैले रगत दिएको छु ।’ लतिफ फातिमाले त्यतिबेला क्रिकेटर अब्बास अली बेगसँग इन्गेजमेन्ट गरेकी थिइन्, जसलाई तोडेर उनले मीर ताजसँग विवाह गरिन् । मीर ताजले सन् १९५९ मा ११ वर्ष कान्छी लतिफ फातिमासँग विवाह गरे । एक वर्षपछि उनीहरुको घरमा छोरीको जन्म भयो र त्यसपछि सन् १९६५ मा शाहरुख खान ।
शाहरुखकी आमा लतिफ फातिमा इन्दिरा गान्धीको नजिक थिइन्
शाहरुख खानकी आमा लतिफ फातिमा हैदराबादकी थिइन्, जो आफ्नो समयभन्दा अघि हिँड्ने महिला थिइन् । उनले इङ्गल्याण्डको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् । उनी आफ्नो समयकी प्रथम श्रेणी मजिस्ट्रेट थिइन्, जो समाजसेवामा पनि अगाडि थिइन् । लतिफ फातिमा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको नजिक थिइन् र उनीसँग कामसमेत गरिन् ।
शाहरुख बाल्यकालमा जेल परे
शाहरुख खानको परिवार दिल्लीको राजेन्द्र नगरमा भाडाको घरमा बस्थे । आमाबुवाले मट्टितेलको एजेन्सी चलाउँथे । एकपटक शाहरुख पनि अवैध मट्टीतेल कारोबारको आरोपमा पक्राउ परेका थिए । तर, उनले तत्काल जमानत पाए ।
खेलाडी बन्ने रहर थियो, काँधको चोटले सपना टुट्यो
सेन्ट कोलम्बस स्कुलमा पढ्दै गर्दा शाहरुखको खेलकुदमा रुचि जाग्यो । शाहरुख हकी र फुटबलमा माहिर थिए । एक दिन खेल्ने क्रममा शाहरुखको काँधमा गहिरो चोट लाग्यो । शाहरुखको सपना खेलकुदमा करियर बनाउने थियो । तर, चिकित्सकले उनलाई खेलकुदबाट टाढा रहन सल्लाह दिए ।
हंसराज कलेजमा अर्थशास्त्र पढ्दा खेलकुदबाट ध्यान हटेपछि शाहरुखले पढाइभन्दा नाटकलाई बढी महत्व दिन थाले । शाहरुखले दिल्ली थिएटर ग्रुपमा ब्यारी जोनबाट अभिनय सिके । यसबाहेक, शाहरुख मास कम्युनिकेशनमा मास्टर डिग्री लिन जामिया मिलिया इस्लामियामा भर्ना भए, तर अभिनयमा करियर बनाउनका लागि, उनी आफ्नो पढाइ छोडेर नेशनल स्कूल अफ ड्रामामा भर्ना भए ।
बुबासँग अन्तिम स्मृति: एक भेनिला आइसक्रीम
शाहरुखका बुबा दिल्लीको विलिंगेन अस्पतालको पछाडि एउटा सानो चियाको पसल चलाउँथे । बुवा मीर ताज मोहम्मदको सन् १९८१ मा क्यान्सरबाट निधन भयो तर शाहरुखले अन्तिम पटक उनको अनुहार हेर्न सकेनन् । वास्तवमा, उनको अस्पतालमा लामो उपचार चलेको थियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई घर पठाइएको थियो ।
एक रात शाहरुखका बुवाले छोरासँग भेनिला आइसक्रिम मागे । शाहरुखले बुवासँग बसेर आइसक्रिम पनि खाए । यसपछि १८ अक्टोबर राती उनकी आमाले उठाएर बुवा अस्पतालमा भएको र भेट्न जान आह्राइन् । शाहरुख गए, तर उनी यति दुःखी थिए कि उनका बुबाको अनुहार हेर्न सकेनन् । उनले बुबाको चिसो भइसकेको खुट्टा देखे । शाहरुखको बुवासँगको अन्तिम सम्झना उनीहरुले सँगै खाएको भेनिला आइसक्रिम थियो ।
मृत्युशैय्यामा भएकी आमालाई सताउँदै भने, म जँड्याहा बन्नेछु
यसको १० वर्षपछि सन् १९९१ मा आमा लतिफ फातिमाको स्वास्थ्य पनि मधुमेहका कारण बिग्रियो । बत्रा अस्पतालमा भर्ना भएकी आमा फातिमा आफ्नो अन्तिम दिन गनिरहेकी थिइन् तर शाहरुखमा उनलाई भेट्ने हिम्मत थिएन ।
अस्पतालको पार्किङमा बसेर उनी आमाको लागि प्रार्थना गरिरहेका थिए । सयभन्दा बढी पल्ट प्रार्थना गरिसकेपछि डाक्टरले उनलाई भेटेर आमालाई अन्तिम पटक भेट्नुपर्ने सुझाए । शाहरुखले अनुपम खेरको शो ‘कुछ भी हो सकता है’ मा भने, ‘म जान चाहन्न थिएँ किनभने मलाई लाग्थ्यो कि यदि मैले प्रार्थना गरिरहेँ भने मेरी आमा बच्नेछन् । दिदीबहिनीले धेरै भनेपछि भेट्न जानुपर्यो ।’
शाहरुखले मानिस सन्तुष्ट भएपछि मात्र संसार छोड्छ भन्ने विश्वास गर्थे । यस्तो अवस्थामा शाहरुखले आमालाई तनाव दिन थाले । जे पायो त्यहि बोल्यो भने आमा जिउँदो हुन्छिन् भन्ने उनलाई लाग्यो । उनले आमालाई भने, ‘तिमी गयौ भने म दिदीको हेरविचार गर्दिनँ । म पढ्दिनँ पनि, काम पनि गर्दिनँ । म रक्सी पिउन थाल्नेछु र यति पिउनेछु कि जँड्याहा बन्नेछु ।’
शाहरुखलाई भ्रम के थियो भने यो सबै सुनेर आमा बाँच्नेछिन् । तर, यस्तो हुन सकेन । सायद उनलाई थाहा थियो शाहरुखले आफ्नो जिम्मेवारी राम्रोसँग सम्हाल्नेछन् जसरी उनले आज गरिरहेका छन् ।
दिदीको सहारा बने शाहरुख खान
शाहरुख खानकी दिदी शहनाज लालारुख उनीभन्दा ६ वर्ष जेठी छिन् । शहनाज घरकी प्यारी थिइन्, जो पढाइमा पनि टपर थिइन् । शहनाजले मनोविज्ञानमा स्नातकोत्तर गरेकी थिइन् । आमा इन्दिरा गान्धीकी साथी थिइन् त्यसैले शहनाजले पनि इन्दिरा गान्धी मेमोरियलमा अफिसरको रूपमा काम गरिन् । शहनाज पहिले निकै हँसीमजाक गर्नुपर्ने खालकी थिइन् तर आमाको मृत्युपछि उनी डिप्रेशनमा गइन् । शाहरुखले दिदीको जिम्मेवारी लिए र आज पनि शहनाज शाहरुखसँग उनको बंगलामा बस्छिन् ।
शाहरुखले हेमा मालिनीको निर्देशनमा बनेको डेब्यू फिल्म ‘दिल आशना’ साइन गरेका थिए । हेमाका लागि शाहरुख पहिलो रोजाइ थिएनन्, किनकि उनी नयाँ कलाकारसँग निर्देशनमा डेब्यू गरेर जोखिम लिन चाहन्न थिइन् । उनलाई न शाहरुखको कपाल मन पर्यो, न त उनको बोल्ने शैली, तर अर्को नायक नभेटेपछि उनले शाहरुखसँग फिल्म बनाइन् ।
हेमा मालिनीले बिहेको दिन काममा बोलाइन्
शाहरुखको विवाह भएको बेला फिल्म ‘दिल आशना है’ को सुटिङ चलिरहेको थियो । विवाह अघि शाहरुख साथीहरूसँग बस्ने गर्थे, त्यसैले विवाहका दिन उनले होटल बुक गरेका थिए । होटलमा पुग्ने बित्तिकै हेमा मालिनीले फोन गरेर शाहरुखलाई भेट्न बोलाइन् ।
शाहरुख दुलही बनेकी गौरीलाई लिएर सेटमा पुगे । हेमा त्यहाँ थिइनन्, त्यसैले शाहरुखले गौरीलाई मेकअप रुममा छोडेर सुटिङ गर्न थाले । घण्टौंसम्म शाहरुखले हेमालाई पर्खिरहे र गौरीले शाहरुखलाई । रातको २ बजिसकेको थियो । शाहरुख मेकअप रुममा पुग्दा दुलही बनेकी गौरी निदाएकी थिइन् । शाहरुख आउनेबित्तिकै गौरी मुस्कुराउँदै उठिन् तर शाहरुखको आँसु आयो । शाहरुखको मनमा यो कुरा सधैँ खट्किरह्यो । त्यतिबेला हेमा मालिनीलाई पनि शाहरुखको विवाह भएको थियो भन्ने थाहा थिएन ।
हेमा मालिनीकी गुरु आमाले शाहरुखको बारेमा भविष्यवाणी गरेकी थिइन्
हेमा मालिनीले आफ्नो बायोग्राफी बियन्ड द ड्रीम गर्लमा शाहरुखलाई आफ्नो फिल्ममा कास्ट गर्दा आफू सन्तुष्ट नभएको बताएकी छिन् । उनलाई शाहरुखको लुक र छिटो बोल्ने शैलीमा आपत्ति थियो । हेमाले शाहरुखलाई विश्वास गरिनन्, तर कास्ट गरेपछि हेमाले शाहरुखको तस्बिर आफ्नी गुरु आमा इन्दिरालाई देखाइन्, उनले भविष्यवाणी गरिन्, 'एक दिन यो केटाले उद्योगको अनुहार फेर्नेछन् ।'
विवादित स्तम्भ पढेपछि सम्पादकलाई ज्यान मार्ने धम्की, जेल गए
सन् १९९३ मा शाहरुख फिल्म माया मेमसाबमा देखिए । यो त्यो समयको कुरा हो जब फिल्मका रोमान्टिक दृश्य देखेर मानिसहरु आँखा बन्द गर्थे तर यस फिल्ममा बोल्ड दृश्यहरु राखिएको थियो । फिल्मका निर्देशक केतन मेहता थिए, जसकी पत्नी दीपा साहीले शाहरुखसँग बोल्ड सीन दिएकी थिइन् ।
फिल्म रिलिज भएपछि सिने ब्लिट्स नामको म्यागजिनले एक स्तम्भमा लेखेको छ कि निर्देशक केतनको आदेशमा शाहरुखले आफ्नी पत्नी दीपासँग रात बिताए, ताकि दुबैले एकअर्कालाई राम्ररी बुझेर रोमान्टिक दृश्य खिच्न सकून् । यो स्तम्भ पढेपछि शाहरुख यति रिसाए कि उनी सीधै पत्रिकाको अफिस पुगे र लेखकलाई मार्ने धम्की दिए ।
शाहरुखको यस कार्यलाई लिएर पत्रिकाका सम्पादकले प्रहरीमा उजुरी दिए । प्रहरी शाहरुखलाई पक्राउ गर्न सेटमा पुग्दा शाहरुखले प्रहरी पनि आफ्नो प्रशंसक भएको र भेट्न सेटमा नै आएको भन्ने सोचे तर पछि प्रहरीले उनलाई कारमा बस्न भनेपछि मात्रै आफूलाई पक्राउ गर्न आएको भन्ने थाहा भयो । शाहरुखले यतिबेला पहिलोपटक जेल देखेका थिए । शाहरुखले एक अन्तरवार्तामा जेल असाध्यै फोहोर र दिसा र पिसाब जताततै देखिएको बताएका थिए । शाहरुखलाई एकदिन जेलमा राखिएको थियो ।
गौरी खानका लागि किने मन्नत
शाहरुख खानको बंगला वर्षौंअघि गुजराती मूलका पारसी किकु गान्धीको थियो । उनी शिमोल्ड आर्ट ग्यालरीका संस्थापक थिए । करियरको सुरुवातमा शाहरुख किकुका छिमेकी थिए । जब शाहरुखले थाहा पाए कि किकु आफ्नो बंगला लीजमा लिन चाहन्छन्, उनले घर किन्ने प्रस्ताव गरे । त्यतिबेला शाहरुख फिल्म ‘यस बोस’ को सुटिङमा थिए । धेरै कठिनाइ पछि शाहरुखले गौरीका लागि सन् २००१ मा १३.३२ करोडमा यो घर किनेका थिए । यस बंगलाको पहिले नाम विला भियना थियो, जसलाई शाहरुखले मन्नत नामाकरण गरे ।
बलिउडका बादशाह वास्तविक बादशाहभन्दा पछाडि छैनन्
शाहरुख ५११६ करोडको सम्पत्तिका साथ विश्वका तेस्रो धनी अभिनेता हुन् । यो सूचीमा अमिताभ बच्चन आठौं नम्बरमा छन् । सन् २०२१ मा शाहरुखको कुल सम्पत्ति ५११६ करोड रुपैयाँ मानिएको छ ।
शाहरुखको घर मन्नतको बजार मूल्य ३५० करोड भारु रहेको छ । सन् २००९ मा शाहरुखले १७२ करोडमा लन्डनमा एउटा लक्जरी घर किनेका थिए । दुबई नजिकै पाम जुमेरामा शाहरुखको १०० करोडको लक्जरी भिला छ । यस भिलाको नाम जन्नत हो । सेप्टेम्बर २००७ मा दुबईका प्रोपर्टी डेभलपर नखिलले शाहरुखलाई भिला उपहार दिएका थिए ।
अभिनय बाहेक शाहरुखले यी ४ व्यवसायबाट पैसा कमाउँछन्
रेड चिलीज इन्टरटेनमेन्ट प्रोडक्सन हाउस
वर्ष – २००० देखि
वार्षिक व्यापार – ५०० करोड भारु
आईपीएल टीम कोलकाता नाइट राइडर
वर्ष – २००८ देखि
किडजानिया– शाहरुखको यस कम्पनीमा २६ प्रतिशत सेयर छ
ब्रान्ड एन्डोर्समेन्ट
शाहरुखको ब्रान्ड भ्यालु ३ सय ७८ करोड रुपैयाँ छ ।
विज्ञापन शुल्क – ४ करोड भारु (शाहरुखसँग हाल ४० ब्रान्ड छन्)
– दैनिक भास्कर