कात्तिक १९, २०७९ शनिबार

उबेला नीद थियो
बिस्तरा थिएन
भोक थियो
अन्न थिएन
जुन बेला बोक्रा नि चपाइन्थ्यो
बोक्रो समेत भेटिन्नथ्यो
अहिले स्वादिला भोजन छन्
मुखले स्वाद पाउन्न ।

बुढी,
कहिलेकाहीँ रिस ऊठ्दा
खुट्टा भए जुत्ता कति-कति भनि घुर्क्याऊँथे तँलाई 
तँ गईस्
न खुट्टा रहे
न जुत्ता फेर्न परो ।

उहिले तँलाइ ढाट्थे र सुटुक्क छिर्थेँ साईलीको भट्टी
अहिले अाफैलाइ ढाट्दै लुसुक्क छिर्छु
पहिला मैले रक्सि खान्थेँ
अहिले रक्सिले मलाई खाँदैछ 
उतिखेर खुसि हुन पिउँथे
अहिले एक्लै रुन पिउँछु ।

ए बुढी, दुध र भातले नाक लागेको छ
एकचोटि तैले पकाएको गुन्द्रुकको झोल
र कोदोको ढिडोको स्वाद लिन पाए
प्राण सजिलै जान्थ्यो 
तँ अाएर पकाउछेस् कि
म उतै अाम्?

तैले जानिस् बुढी
बेलैमा गइस्
मुखमा दाँत छँदै
ज्यानमा अाँत छँदै 
न लौरो टेक्न परो तँलाई 
न अँधेरो देख्न परो तँलाई 
उ बेला तँ थिईस
मायाँले बोल्ने फुर्सद थिएन
अहिले तँ छैनस्
मलाई फुर्सदै फुर्सद छ 
बेइमानी काल पनि
जोडी छुटाउन मात्रै अाउछ सायद ।

राधिका कल्पित