खमारी सधैं हाँस्ने नै भयो
--------
खै उस्तै त्यस्तै छ संझन्छे कान्छी
---------
हेमन्त र मङ्सिर एकाअर्काका पुरक बन्न सकेको देखिँदैन
धानका बाला झुलेको आजकाल शरदमा भेटिँदैन
अलास्काबाट उडान भरेर अष्ट्रेलिया पुग्ने चराहरू रमाएकै छन्
यद्यपि यतातिर न्वाँगीमा परेवा रमाएको र सुगा नाचेकै देखिँदैन ।
कान्छो लाछिमा बसेर हातको चश्मा लगाँउदै गमिरहेछ
कति वर्ष यसरी बिते? कान्छीलाई उसका खिरिला अम्लाहरू गनाइरहेछ
भन्छे कान्छी करिब तीस बर्ष बितेछन्।
भन्छ कान्छो- हैट्!
छक्क पर्छ कान्छो
र संझन्छ त्यही साल जन्मेको उसको छोरा अनारेलाई
संझन्छ ऐले साउदी गएको पनि ठ्याक्कै पाँच बर्ष पूरा भएछ
गणतन्त्रको खेताला गएको पनि ठ्याक्कै त्यतिनै बितेछ
रोज लिएर गएको संझन्छ जुलुसमा
अनि सराप्छ पँचलाई
काँग्रेसलाई पुनःएकपल्ट
फेरि सराप्छ बर्ग संघर्षको कथाहाल्ने प्लाटुन कमान्डरलाई
र थुक्क थुक्छ
दरबारेलाई!
अनि डाँडाको कलेज हेर्छ
र सँझन्छ फेरि अनारेलाई।
सायद त्यो कलेज पढाउन सकेको भए
छोरो अनारेबाट अनारमानसिँह बन्थ्यो होला।
थुक्यो
तर थुक झरेन!झर्यो डिल भिजाएर आँसु!
न त झर्यो समानता र न्वागी खाइयो संझन्छ
मङ्सिरमै धान रित्तै भकारी
परबाट लजाँउदै हेर्छ त्यो रुख खमारी!
लजाँउछे कान्छी उसको हेराइमा
कान्लोको बैँस अब गल्न लागेछ
फेरि हेरिन कान्छीले त्यो खमारी
एकोहोरो ट्वाल्ल हेर्छे बैँसको हाँगा
अनि कान्छोको कपास बन्दै गरेको जुँगा।
अनि कान्छोको सट्टा थुक्छे !ऊ
शहर पसिसकेको प्लाटुन कमाण्डरलाई
र लजाँउदै खमारीसँग सुटुक्क पस्छे
चिमे ढोका उघारेर उहीँ उस्तै पुरानो झोपडीमा।
ठ्याक्कै दुरुस्तै गणतन्त्र अघिको त्यो झोपडीमा
खमारी पुनः अर्को पटक खित्का छाडेर हाँस्छ।। ✍️उदय निरौला