कात्तिक १९, २०७९ शनिबार

गरुड पुराण 
----------------------------------------------------------

मान्छे मरेपछि 
चौरासी लाख योनी पार गर्नुपर्छ फेरि जन्मन ।

मान्छे मरेपछि 
डरलाग्दो भीर
अत्यास लाग्दो बाटो 
भयावह नदी पार गरेर जानुपर्छ अर्कै लोक ।

मान्छे मरेपछि 
फेरि मान्छे भएर जन्मन 
चौरासी लाख योनी पार गर्नुपर्छ !

चौरासी लाख योनी पार गरेर जन्मेको मान्छेलाई
चौरासी लाख योनी पार गरेर जन्मेको अर्को मान्छेले 
किन तेह्र दिनमै बिर्सन्छ ?

सालनालको जञ्जीर 
रक्त कुण्ड
पीप कुण्ड 
असंख्य पीडा कुण्ड पार गरेर आएको मान्छेलाई
अनन्त यातना कुण्ड पार गरेर आएको मान्छेलाई
अर्को त्यस्तै यात्राबाट फर्केको मान्छेले 
किन यति चाँडै बिर्सन्छ ?

स्वर्गमा बास होस् भनेर एउटा मान्छेलाई 
अर्को मान्छेले
किन यति छिट्टै विदा गर्छ ?

चौरासी लाख योनी पार गरेर 
जन्मेको मान्छेले
किन यो बिर्सन्छ 
पुनः मान्छे भएर जन्मन चौरासी लाख योनी कुर्नुपर्छ !

मौन आवाज