नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नी श्रीमतीसँगै काठमाडौंको चाबहिलमा रहेको एफएक्युब सिनेमाजमा शनिबार साँझ फिल्म ‘महापुरुष’ हेरेका छन् । मह जोडीको अभिनय रहेको र फिल्मलाई हेर्नेले राम्रो भनेकाले दर्शक बनेर बिदाको समय सदुपयोग गरेको उनले बताए ।
साँझ ५ बजेर १५ मिनेटको शोमा फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफूलाई मनपर्ने सामाजिक विषयवस्तुमै फिल्म रहेको जानकारी दिए ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टलगायतको अभिनय छ । एक्लोपनको कथा देखाइएको षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको छ ।