मंसिर १, २०७९ बिहिबार

पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो ।

उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाईले बताए ।

“मन्त्रालयबाट गत साउनमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति पाएका छौँ, प्राधिकरणले प्राविधिक प्रक्रियाको काम गरिरहेको छ, यसपछि सञ्चालन निर्देशन जारी भएलगत्तै व्यावसायिक रुपमा सञ्चालन गछौँ”, उनले भने । उनका अनुसार मङ्सिरमै प्राविधिक प्रक्रियाको काम सकिनेछ भने पुसदेखि उडान थालिनेछ ।

सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परिरहेका बेला मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको हो ।