मंसिर ६, २०७९ मंगलबार

म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा आज मंगलबार बिहानैदेखि सतबीज छर्ने र दीपदान गर्ने भक्तजनहरुको भीड लागेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वर धाममा साेमबार रातिदेखि नै टाढाटाढाका भक्तजनहरु आएका थिए । बाला चतुर्दशी पर्वलाई सतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा सतबीज छर्ने चलन रहेको छ ।

कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका बीउ छर्न आएका भक्तजनको घुइँचो लागेको हो । यसैगरी सतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।

गलेश्वरमा सतबीज छर्न म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन र नवलपरासी लगायतका स्थानबाट समेत भक्तजनहरु आएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।