मंसिर ६, २०७९ मंगलबार

तिहारको टीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘महापुरुष’ले चौथो सातामा पनि दर्शकबाट उत्साहजनक साथ पाएको छ । प्रदर्शनको २५औं दिन अर्थात् हिजो (सोमबार)  फिल्म हेर्न हलमा दर्शकको उपस्थिति उत्साहजनक देखियो । धेरै शोजहरू हाउसफुल रहे । 

सोमबार धेरै शोहरू हाउसफुल रहेको भन्दै फिल्मका लेखक एवं निर्देशक प्रदीप भट्टराईले खुशी व्यक्त गरेका छन् । तिहार सकिएलगत्तै चुनाव र विश्वकप फुटबलसँगै विदेशी ठूला फिल्मको भीडभाड देखेपछि प्रायः नेपाली फिल्महरू माघपश्चात् मात्र रिलिज हुँदैछन् । अझै, फागुनमा नेपाली फिल्महरू एकआपसमा भिड्दैछन् । चुनावी माहौल र विश्वकप फुटबलसँगै जाडोले व्यापारमा असर गर्ने अनुमान गरिएता पनि ‘महापुरूष’ले राम्रो व्यापार गर्न सफल भएको हो । 

दर्शकको बलियो उपस्थितिकै कारण मल्टिप्लेक्स हलहरूले शो घटाएका छैनन् । मंगलबार पनि फिल्मले उल्लेख्य शो पाएको छ । कार्यकारी निर्माता रबिन्द्रसिंह बानियाँका अनुसार केही शुभचिन्तकले उक्त समयमा फिल्म रिलिज नगर्न सुझावसमेत दिएका थिए । 

बानियाँले भने, ‘हामीलाई फिल्मप्रति विश्वास भएर नै उक्त डेटमा प्रदर्शन गरेका हौं, फिल्म हेर्ने दर्शकले दिनुभएको सकारात्मक प्रतिक्रियाकै कारण शो घटेको छैन, अहिलेसम्म पनि केही शोहरू भरिभराउ छन् ।’ 

चौथो सातामा शोहरू यथावत रहनुले दर्शकको आकर्षण कम नभएको देखाउने लेखक तथा निर्देशक भट्टराई बताउँछन् । ‘फुर्सद र समय मिलाएर आउने हुँदा बिहानी भन्दा दिवा र रात्रि शोहरू हाउसफुल छन्, हामीले दिन खोजेको सन्देशसँग दर्शक जोडिनुभएको छ, व्यापारसँगै फिल्म हेरेर निस्किँदा दर्शकको मुहारमा पाइने सन्तुष्टि नै हाम्रो सफलता हो ।’

सामाजिक कथामा निर्माण भएको ‘महापुरुष’मा हरिवंश आचार्य शीर्ष भूमिकामा छन् । साथमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेललगायत पनि शीर्ष भूमिका छ ।  फिल्मले तीन सातामा आठ करोड रुपैयाँभन्दा बढी कमाइसकेको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण चौथो सातामा पनि फिल्मले दर्शकबाट उत्साहजनक साथ पाएको हो । 

केही सातायता ठूला नेपाली फिल्म प्रदर्शनमा नआउनुको फाइदा पनि ‘महापुरुष’लाई मिलेको छ । म्याक्स दीपेश खत्रीको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा रबिन्द्रसिंह बानियाँ छन् । फिल्मले अमेरिका र अस्ट्रेलियामा समेत राम्रो व्यापार गरेको छ ।