मंसिर १५, २०७९ बिहिबार

काठमाडौं । पर्यटन विभागले यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति दिएर गत वर्षभन्दा दोब्बर राजस्व रकम संकलन गरेको छ। विभागले गत वर्षको यही ऋतुमा ४ करोड ६ लाख रूपैयाँ रकम संकलन गरेकोमा यसवर्ष ९ करोड ३० लाख संकलन गरेको छ।


विभागको तथ्याङ्क अनुसार ४८ वटा हिमाल अनुमतिबाट उक्त रकम संकलन भएको हो। विभागल वर्षमा २ पटक हिमाल आरोहणका लागि अनुमति दिने गरेको छ। यसअनुसार विभागले मार्च, अप्रिल, मे महिना (वसन्त ऋतु) मा र सेप्टेम्बर, अक्टुबर र नोभेम्बर (शरद ऋतु)मा हिमाल आरोहण खुला गर्ने गर्छ ।

यस वर्षको तथ्याङ्क अनुसार शरद ऋतुमा ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ। मनास्लु हिमालबाट मात्र विभागले ४ करोड ६२ लाख ९१ हजार रूपैयाँ राजस्व संकलन गरेको हो। कुल ३८ समूहबाट ४ सय ४ जनाले मनास्लु आरोहण अनुमति लिएका छन्। जसमध्ये ३०७ जना पुरूष र ७ जना महिला रहेका छन्।

विशेषगरी वसन्त र शरद ऋतुमा सबैभन्दा बढी हिमाल आरोहण हुने गर्दछ। यी दुई ऋतुमध्ये पनि शरद ऋतुमा मनास्लु हिमाल आरोहण गर्ने आरोहीहरू सबैभन्दा बढी हुने विभागका अधिकृत विज्ञान कोइरालाले बताए। उनले भने ‘शरद ऋतुमा अन्य हिमालहरू भन्दा मनास्लु हिमाल आरोहण गर्ने आरोहीहरू बढी हुन्छन्, त्यसैले पनि मनास्लुबाट यस याममा बढी राजस्व संकलन हुन्छ।’

मनास्लुपछि ६ हजार ८ सय १४ मिटर अग्लो अमादब्लम हिमाल अरोहण अनुमतिबाट बढी राजस्व रकम संकलन भएको तथ्याङ्कले देखाएको छ। अमादब्लमबाट विभागले २ करोड ४२ लाख राजस्व रकम संकलन गरेको छ। विभागबाट कुल ३९ समूहका ४ सय ६० जनाले अमादब्लम आरोहणको अनुमति लिएका छन्। जसमा ३ सय ५५ पुरूष र १ सय ५ महिला आरोही रहेका छन्। नागरिक दैनिकबाट