काठमाडौं । यसवर्षको ‘हेमगंगा शारीरिक अपांग प्रतिभा पुरस्कार’ अपांगता अधिकार तथा सञ्चारकर्मी भूमिकला पौडेलले प्राप्त गर्नुभएको छ । समाज कल्याण परिषद्, राष्ट्रिय अपांग कोषद्वारा प्रतिभाशाली अपांगता भएका व्यक्तिहरूलाई प्रदान गरिने पुरस्कारहरूमध्ये ‘पत्रकारिता तथा सञ्चार क्षेत्रमा उल्लेखनीय प्रतिभा देखाउन सक्षम व्यक्तिलाई प्रदान गरिने पुरस्कार’ विधामा उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
अपांगता सवाललाई पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमार्फत सक्रिय रूपमा आवाज उठाउँदै आउँनुभएकी पौडेल आफू पनि शारीरिक अपांगता भएको व्यक्ति हुनुहुन्छ र लामो समयदेखि नै अपांगता क्षेत्रमा संलग्न रहँदै अपांगता भएका व्यक्तिहरूको आवाज बुलन्द पार्नमा महत्वपूर्ण भूमिका खेलिरहनुभएको छ । अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर राजधानीमा प्रदान गरिएको सो पुरस्कारलगायत अन्य विधाका पुरस्कारहरू पनि वितरण गरिएको थियो ।