मंसिर २६, २०७९ सोमबार

चितवनका दर्शकहरुसँग नेपथ्यको सम्बन्ध निकै पुरानो हो । सबैभन्दा पहिलो कन्सर्ट यहाँ ब्याण्ड स्थापनालगत्तै गणेश चलचित्र मन्दिरमा सन् १९९५मा आयोजना गरिएको थियो । त्यो क्रम बढ्दै पछिल्लोपटक ब्याण्ड सन् २०१८ मा यहाँ प्रस्तुत भएको थियो । त्यतिबेला नारायणी नदीको किनारमा कन्सर्ट आयोजना गरिएको थियो भने यसपाला पहिलोपटक क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो ।


मैदानभरि अटाएका दर्शकहरुको भव्य र सभ्य उपस्थितिले यसरी मुलुकभरको यात्रामा निस्केको नेपथ्यको यो चौथो प्रस्तुति पनि व्यापक रुपमा सफल भएको छ । महिना दिन लामो यात्रा अन्तर्गत यसअघि विराटनगर, वीरगन्ज र हेटौंडामा यस्तै भब्य कन्सर्ट सम्पन्न भइसकेका छन् ।   


यसरी करिब डेढ दशक पुरानो गीतबाट सुरु गरेको ब्याण्डले दोश्रो गीत भने झन्डै तीन दशक पुरानो सुनाएको थियो । गीत थियो ‘छेक्यो छेक्यो देउराली डाँडा’। नेपथ्यको सबैभन्दा हिट यो गीत ब्याण्डको दोस्रो एल्बम ‘हिमाल चुचुरे’ मा अटाएको थियो ।

यो गीत सकिने बित्तिकै गायक अमृतले दर्शकहरुलाई अभिवादन गरेका थिए । ‘नारायणघाट आउँदा जहिले पनि म उहि ३० वर्ष अघिको अमृत गुरुङ हुँ जस्तो महशुस हुन्छ,’ उनले भनेका थिए, ‘भेरि भेट्ने जोग जुरेको बेला सबैलाई स्वागत छ है ।’

त्यसपछि ‘अब तपाइँहरुलाई म रोदीघरतिर लैजान्छु’ भन्दै उनले तेश्रो गीत सुनाएका थिए ‘खान्न म त लामपाते सुरती’ । यसरी धमाधम तीनवटा लोकप्रिय गीतहरु सुनाउन्जेल मंसिर अन्त्यको चिसोकै बीच पनि चितवनका दर्शकहरुमाझ ब्यापक तापक्रम फैलिसकेको थियो ।

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरू ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ ले निरन्तरता दिएका थिए । कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।