सोनी बर्तौला
प्रिया !
तिमी भन्छ्यौ-
लकडाउनका कारण जीमखाना जान पाइनँ
घरमै बस्यो
खानबाहेक अरु काम छैन
ह्वात्तै तौल बढ्यो
कसरी घटाउने होला ?
म भन्छु-
लकडाउनका कारण कामधन्धा सब चौपट्टै भयो
घरवेटीले कोठा छाड्न भन्नुभयो- कहाँ बस्ने ?
रासन केही छैन- के खाने ?
खान नपाएर तौल घटेको छ
रिंगटा लागेर उभिन पनि सक्दिनँ
के गर्नेहोला ?
कसो गर्नेहोला ?
भान्सामा पानीको थोपा छैन
श्रीमती सुत्केरी छिन्
बहिनीको महिनावारी भएको छ
झोलिलो खानेकुरा के पकाऊँ ?
बाहिरको खानै डर छ
के उनीहरूलाई
सुख्खा तरकारी र रोटी दिऊँ ?