अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तीन वर्षको अन्तरपछि चलचित्रको पर्दामा देखिँदैछिन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ आगामी शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछन् । उक्त चलचित्र प्रदर्शनमा आएको तीन सातापछि उनको अर्को चलचित्र ‘ह्यारीकी प्यारी’ प्रदर्शनमा आउँदैछ ।
माघको २० गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रमा साम्राज्ञीले हास्य अभिनेता जितु नेपालसँग जोडी बाँधेकी छिन् ।
आइतवार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रमा अभिनेत्री साम्राज्ञी र जितुबीच विवाहको दृश्य छ । पञ्चेवाजा बजाएर उनीहरूको विवाह भएको दृश्य सार्वजनिक ट्रेलरमा देख्न सकिन्छ ।
ट्रेलर रिलिज कार्यक्रमपश्चात अविवाहित अभिनेत्री साम्राज्ञीले विवाहको प्रश्नको समेत सामना गर्नुपर्यो ।
यद्यपि, उनले विवाहबारे अहिले आफूले केही नसोचेको बताइन् । ‘चलचित्रमा विवाहको दृश्य छ । रियल लाइफमा चाहिँ कस्तो विवाह गर्न चाहनुहुन्छ ?’ प्रश्नमा उनले भनिन् –‘अहिले केही सोँचेकै छैन् ।’
उनले चलचित्रमा आफू ‘ह्यारीकी प्यारी’ भएपनि रियल लाइफमा भने सबैभन्दा प्यारी आमाको रहेको प्रतिक्रिया दिइन् ।
अभिनयका कारण साम्राज्ञीको सधै प्रशंसा हुने गरेका छन् । भुवन केसीको चलचित्र ‘ड्रिम्स’बाट चलचित्र उद्योगमा भित्रिएकी यी अभिनेत्री सञ्चारमाध्यममा दिने धारणा र अफेयरका कारण समेत बेलाबेलामा चर्चामा आइरहन्छिन् ।
कहिले व्यापारी मयंक खड्कासँग त कहिले देवांश राणासँग प्रेमसम्बन्धमा रहेकी साम्राज्ञी यतिबेला भने सिंगल रहेको बताइन्छ ।
‘तिम्रो मेरो साथ’ र ‘ह्यारीकी प्यारी’सँगै साम्राज्ञीको अर्को चलचित्र ‘लण्डन टु पेरिस’ पनि प्रदर्शनका लागि तयार छ ।