अर्बपति इलोन मस्कले गत अक्टोबर महिनामा सामाजिक सञ्जाल ट्विटर किनेपछि उनीभन्दा अघिको व्यवस्थापनले ट्विटरलाई कसरी अमेरिकी संस्थापन पक्षको हतियार बनाएको थियो भन्ने विषयमा लगातार खुलासा भइरहेका छन् ।
अमेरिकी पत्रकार म्याट तयिब्बीले ट्विटरमै अनेकौं थ्रेड लेख्दै सरकारी निकायहरूको सेवाका खातिर ट्विटरले नियम बंग्याएको विषयलाई उजागर गरिरहेका छन् । ट्विटर फाइल्स अन्तर्गतका थ्रेडमा वामपन्थी र दक्षिणपन्थी झुकाव भएका तैयिब्बी लगायत कैयौं लेखकले अनेकौं खुलासा गरिरहेका छन् ।
उनीहरूलाई ट्विटरका विभिन्न फाइल तथा आन्तरिक संवादका पाठहरू उपलब्ध गराइएपछि धमाधम खुलासा भएका हुन् । कम्पनीका आन्तरिक ईमेल तथा स्ल्याक नामक च्याट यापमा कर्मचारीहरूले कम्पनीको नीति तथा कन्टेन्ट मोडरेसनका विषयमा गरेका कुराकानीका आधारमा खुलासा गरिएका हुन् ।
अहिलेसम्म १२ वटा खुलासा गरिएका छन् । तयिब्बीले आफ्नो सबस्ट्याक पेजमा गत जनवरी ५ मा प्रकाशित गरेको लेखमा ती खुलासाहरूको संक्षेपमा वर्णन गरेका छन् ।
पहिलो खुलासा तैयिब्बीले सन् २०२२ डिसेम्बर ६ मा गरेका थिए । राष्ट्रपति जो बाइडनका छोरा हन्टरको ल्यापटप काण्डसँग यो खुलासा सम्बन्धित छ । सन् २०२० को अक्टोबर महिनामा हन्टरको ल्यापटपमा उनीविरुद्धका विभिन्न फाइलहरू भेटिएको विषयमा द न्युयोर्क पोस्टले खुलासा गरेको थियो ।
तर ट्विटरले पोस्टको त्यो समाचारलाई ‘ह्याक गरिएको सामग्री’ विरुद्धको नीतिलाई आधार बनाएर ब्लक गरिदियो । ट्विटरका कार्यकारी अधिकृतहरूलाई ब्लक गर्ने यो निर्णय समस्याग्रस्त रहेको थाहा थियो । यसरी समाचार ब्लक गर्नु कम्पनी नीतिअन्तर्गतको कदम हो भन्ने विषयमा ट्विटरका सञ्चार अधिकृत ब्रान्डन बोरम्यानले नै शंका प्रकट गरेका थिए ।
ट्विटरका एक ठेकेदारले सांसदहरूलाई यस विषयमा धारणा व्यक्त गर्न लगाउँदा डेमोक्रेटिक पार्टीका सांसदहरूले ट्विटरलाई थप कठोर हुन भनेका थिए । उनीहरूले अमेरिकी संविधानको पहिलो संशोधनमार्फत प्रत्याभूति गरिएको अभिव्यक्ति स्वतन्त्रता समेत निरपेक्ष नरहेको बताएका थिए । अर्थात्, डेमोक्रेटिक पार्टी प्रतिकूल हुने समाचारलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकारले नसमेट्ने भनी उनीहरूले अलोकतान्त्रिक तथा निरंकुशतावादी कुरा गरेका थिए ।
दोस्रो खुलासा बारी वेसले डिसेम्बर ८ मा गरेका थिए । ट्विटरले केही प्रयोगकर्ताहरूलाई छद्म रूपमा प्रतिबन्ध लगाएको (श्याडो ब्यानिङ) गरेको उदाहरणसहित खुलासा गरिएको थियो । विवादास्पद भनिएका अकाउन्टका विषयमा निर्णय लिनका लागि ट्विटरले बेग्लै एक परिषद् एसआईपी–पीईएस पनि बनाएको थियो ।
संस्थापन पक्षले नरुचाएको कुरा गर्ने व्यक्तिलाई अनेक किसिमका कालोसूचीमा राखेर अधिकतम प्रयोगकर्तामाझ पुग्नबाट रोकिने गरेको खुलासा भएको छ । अमेरिकाका कन्जर्भेटिभ राजनीतिक टिप्पणीकार ड्यान बोनिन्गोलाई सर्च ब्ल्याकलिस्टमा राखिएको थियो भने कोभिडका विषयमा स्थापित भाष्यभन्दा फरक कुरा राख्ने स्ट्यानफोर्ड स्कूल फर मेडिसिनका प्राध्यापक डा. जय भट्टाचार्यलाई ट्रेन्ड्स ब्याकलिस्टमा राखिएको थियो ।
बोनिन्गोको खाता पूरै बन्द नगरेको भए पनि उनलाई ट्विटरमा सर्च गर्दा पनि नभेटिने बनाइएको थियो भने भट्टाचार्यका अभिव्यक्तिलाई ट्विटर ट्रेन्डमा नदेखिने व्यवस्था गरिएको थियो । यसरी संस्थापन पक्ष प्रतिकूलका आवाज बोल्नेहरूलाई विशाल संख्यामा पहुँच बनाउन रोकेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पारिएको थियो ।
तेस्रो, चौथो र पाँचौं खुलासामा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पलाई अधिकतम प्रयोगकर्तामाझ पुग्न नदिने तथा अन्ततोगत्वा पूर्ण प्रतिबन्ध नै लगाउने कदम चालिएको उल्लेख छ । ट्रम्पलाई प्रतिबन्ध लगाउनुपर्ने कुनै उचित कारण नरहेको भए पनि नियम परिवर्तन गर्दै हटाइएको खुलासा त्यसमा भएको छ ।
म्याट तैयिब्बीले गरेको छैटौं खुलासा निकै महत्त्वपूर्ण छ । त्यसमा अमेरिकी अनुसन्धान निकाय एफबीआईसँग ट्विटरले घनीभूत सम्बन्ध कायम गरेको उल्लेख छ । एफबीआईका अधिकारीले सान फ्रान्सिस्कोस्थित फील्ड अफिसबाट ट्विटरलाई नियमित रूपमा सूची पठाएर खाता बन्द गर्न लगाउने वा अधिकतम प्रयोगकर्तामाझ पुग्न नदिने गरेको खुलासा छ ।
सातौं खुलासा माइकल शेलनबर्गर नामक लेखकले गरेका छन् र त्यसमा पनि हन्टर बाइडनको ल्यापटपको कथा समावेश छ । त्यो समाचार दबाउनका लागि ट्विटरले एफबीआईसँग ३४ लाख डलरभन्दा बढी रकम लिएको उल्लेख छ ।
आठौं खुलासा पनि निकै महत्त्वपूर्ण छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गर्ने मनोवैज्ञानिक युद्धलाई कसरी ट्विटरले गुपचुप सहयोग गर्छ भन्ने विषयमा ली फाङ नामक खोज पत्रकारले खुलासा गरेका छन् । ट्विटरले अमेरिकी संसदमा स्पष्ट रूपमा यस्तो किसिमको व्यवहार आफूहरूले नगर्ने गरेको भने पनि फेक अकाउन्ट खोलेर अमेरिकाका शत्रुहरूका विरुद्ध मनोवैज्ञानिक युद्ध गर्ने पेन्टागनको प्रयासलाई ट्विटरले सघाएको यसमा उल्लेख छ ।
आठौं खुलासा पनि निकै महत्त्वपूर्ण छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गर्ने मनोवैज्ञानिक युद्धलाई कसरी ट्विटरले गुपचुप सहयोग गर्छ भन्ने विषयमा ली फाङ नामक खोज पत्रकारले खुलासा गरेका छन् । ट्विटरले अमेरिकी संसदमा स्पष्ट रूपमा यस्तो किसिमको व्यवहार आफूहरूले नगर्ने गरेको भने पनि फेक अकाउन्ट खोलेर अमेरिकाका शत्रुहरूका विरुद्ध मनोवैज्ञानिक युद्ध गर्ने पेन्टागनको प्रयासलाई ट्विटरले सघाएको यसमा उल्लेख छ ।
विशेषगरी अमेरिकी सेनाको सेन्ट्रल कमान्डले अरबी भाषाका ५२ वटा अकाउन्टको सूची ट्विटरलाई पठाएको थियो । उक्त अकाउन्टमार्फत आफूहरूले निश्चित सन्देशलाई बढी महत्त्व दिएर प्रवाह गरिरहेको पेन्टागनको भनाइ थियो र ट्विटरले ती अकाउन्टलाई सेतोसूचीमा राखेको थियो । सन् २०१७ देखि २०२० सम्म ट्विटरले रक्षा मन्त्रालयको यस कारवाहीलाई सहायता दिएको थियो ।
नवौं खुलासामा ट्विटरले सीआईए, एफबीआई र डिपार्टमेन्ट अफ होम सिक्योरिटीसँग बैठक गरेको उल्लेख छ । ती सरकारी निकायले ट्विटरलाई विभिन्न अकाउन्टलाई प्रतिबन्ध लगाउन वा निगरानी गर्न लगाएका थिए ।
दशौं खुलासामा लेखक डेभिड ज्विगले कोभिडका विषयमा भएका बहसलाई ट्विटरले कसरी मोडिदियो भन्ने कुरा उल्लेख छ । अमेरिकी अधिकारीहरूले कोभिडका विषयमा बनाएको भाष्यप्रति असहमति राख्ने चिकित्सक तथा अन्य स्वास्थ्यविज्ञलाई अविश्वसनीय बनाउनका लागि ट्विटरले योगदान गरेको अनि उनीहरूले दिएको जानकारीलाई रोकेको खुलासामा उल्लेख छ ।
कोभिडका विषयमा संस्थापनको भाष्यभन्दा विपरीत तर सत्य कुरा राख्ने धेरै प्रयोगकर्ताहरूको खाता बन्द नगरिदिएकोमा बाइडन प्रशासनका अधिकारीहरू बेस्सरी रिसाएको कुरा पनि खुलासा भएको छ ।
एघारौं र १२औं खुलासामा पनि ट्विटर र अमेरिकी सरकारी निकायबीचको अपवित्र सम्बन्धको बारेमा उल्लेख गरिएको छ । सन् २०१७ को अन्त्यतिर ट्विटरले बाहिरबाहिर चाहिँ आफू स्वतन्त्र रहेको भन्ने अनि आफूहरूको विवेकमा मात्र कुनै सामग्री हटाउने प्रतिज्ञा गर्ने निर्णय गरेका थिए । तर ट्विटरको भित्री निर्देशिकामा चाहिँ अमेरिकी गुप्तचर निकायले भनेबमोजिम अकाउन्ट हटाउने कुरा लिखित रूपमै राखिएको पाइएको छ ।
यसरी ट्विटरले अमेरिकी संविधानद्वारा प्रत्याभूत गरिएको निरपेक्ष अभिव्यक्ति स्वतन्त्रतालाई हानि गर्ने अनेकौं कदम चालेको खुलासा भएको छ । निजी कम्पनी भइकन पनि सरकारी प्रचारबाजीको माध्यम बन्ने अनि सरकारलाई मन नपरेका कुरामाथि प्रतिबन्ध लगाउने काम ट्विटरले गरेको भेटिएको छ ।
अमेरिकी गुप्तचर निकायहरूले आफ्नो भाष्यप्रतिकूल अभिव्यक्ति दिने प्रयोगकर्ताका बारेमा ट्विटरलाई बताएपछि ट्विटरले त्यस्ता प्रयोगकर्ताको फलोअर संख्या घटाइदिने अनि फलोअरहरूले नै ट्वीट देख्न नसक्ने बनाइदिने काम गरेको पाइएको छ । अमेरिकाको युद्धपरस्त परराष्ट्रनीतिको विरोध गर्ने अमेरिकी तथा अन्य मुलुकका प्रभावशाली प्रयोगकर्ताको खातामा छेडछाड गर्ने गरिएको गुनासो पहिले पनि सुनिएको हो भने खुलासाले त्यसलाई पुष्टि गरेको छ ।
अभिव्यक्ति स्वतन्त्रताका कट्टर पक्षधर भएकाले इलोन मस्कले ट्विटर किनेपछि त्यहाँ विगतमा भएका गलत अभ्यासको खुलासा गर्न लगाएका हुन् । अनि उनले विगतमा प्रतिबन्धित गरिएका कतिपय खाताहरू पनि खोल्न लगाएर अर्को पक्षको आवाज पनि सुन्न मिल्ने बनाएका छन् । त्यसो त एलेक्स जोन्स र कान्ये वेस्ट जस्ता विवादास्पद प्रयोगकर्ताहरूको ट्विटर खातामाथिको प्रतिबन्ध फिर्ता लिन नमानेर मस्कले पनि अभिव्यक्ति स्वतन्त्रता पूर्णतया निरपेक्ष नहुने स्पष्ट पारेका छन् ।
अनि ट्विटरलाई गलत अभ्यासबाट मुक्त तथा पवित्र पार्ने उद्देश्यका साथ मात्र मस्कले यो कदम नचालेका हुन सक्छन् । मस्कलाई दक्षिणपन्थी विचारधाराप्रति लगाव छ र उनी विगतमा ट्विटरले दक्षिणपन्थी कन्जर्भेटिभहरूलाई गरेको भेदभावप्रति रुष्ट थिए ।
अहिले ट्विटर किनेर उनी दक्षिणपन्थीहरूलाई निस्संकोच अभिव्यक्तिको अवसर दिलाउन चाहन्छन् । भविष्यमा उनले अमेरिकी निकायसँग मिलेर वामपन्थीहरूलाई प्रतिबन्ध लगाउने काम नगर्लान् वा उनी एफबीआई जस्ता निकायको दबाबमा नझुक्लान् भन्न सकिन्न ।
उता पश्चिमका मूलधारे सञ्चारमाध्यमहरूले ट्विटर फाइल्सलाई खासै स्पेस दिएका छैनन् र दिएको भए पनि त्यसलाई नकारात्मक रूपमा प्रस्तुत गरिरहेका छन् ।
उनीहरू अमेरिकी गुप्तचर निकायले दिएको सूचनालाई कुनै विवेक प्रयोग नगरी जस्ताको त्यस्तै दोहोर्याउने अनि मनोवैज्ञानिक युद्धमा सहयोग गर्ने कठपुतली हुन् । त्यसैले अमेरिकी डीप स्टेटलाई लज्जाबोध हुने खुलासालाई उनीहरूले स्थान नदिएका हुन् । अझ, सीएनएनले त म्याट तैयिब्बी अविश्वसनीय पात्र हुन् भनेको छ । उनको भनाइलाई गम्भीरतापूर्वक लिन नहुने भन्दै सीएनएनले महत्त्वहीन बनाउन खोजेको छ ।
तर लोकतन्त्रको चम्किलो उदाहरणका रूपमा आफूलाई संसारसामु पेश गर्ने अमेरिकाले प्रविधि कम्पनीको उपयोग गरी कसरी राजनीतिक दमन गरिरहेको छ भन्ने कुरालाई ट्विटर फाइल्सले छ्यांगै बनाइदिएको छ । ट्विटर लगायतका ठूला प्राविधिक तथा सामाजिक सञ्जाल कम्पनीहरूलाई थप पारदर्शी बनाउनका लागि पनि यसले पाठ सिकाएको छ ।