केशव पन्त 'सवितु:'
एउटा सामान्य नागरिक जब सुरक्षा निकायमा प्रवेश गर्छ तब उसलाई सुरुमा रोजगारको अभावले तानेको हुन्छ या त उसको ईखले । तर सेवा गरिरहेको अवस्थामा आफूभन्दा पनि देश र जनताको जीउधनको रक्षा नै ठूलो हो भनेर ऊ अभिप्रेरित भएको हुन्छ । यस्तै प्रेरणा र भाव बोकेका सिपाहीहरूको यो निकै ठूलो र महत्वपूर्ण पक्ष हो ।
यसरी 'मानवीय व्यवहार तर कानूनी काम' भन्ने मूल दायित्वलाई आत्मसात् गर्दै सशस्त्र प्रहरी बल नेपाल नं.३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरको फौजी टोली निशिदिन खटिएको हुन्छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरको जिम्मेवारी क्षेत्रअन्तर्गत जिल्लामा अन्तरराष्ट्रिय सीमा अन्दाजी १२९.५ कि.मी. लम्बाइ रहेको छ । उक्त सीमा ईलाकामा सीमा सुरक्षा व्यवस्थापन, अन्तरराष्ट्रिय सीमा अपराध, आपराधिक क्रियाकलाप नियन्त्रण, अवैध चोरी पैठारी, मानव बेचबिखन, जाली नोट, लागूऔषध, अवैध वन पैदावर, वन्यजन्तु ओसारपसार नियन्त्रण तथा त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरूको जीउधनको सुरक्षा, विपद् व्यवस्थापन गर्दै समग्र शान्ति सुरक्षा कायम राख्न हाल १९ वटा वीओपीहरू स्थापना भएका छन् ।
नेपालभारत खुला सीमानाका कारण अवैध चोरी तस्करी, वन पैदावारको तस्करी, चेलीबेटी बेचविखन, लागूऔषध ओसारपसार, हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण, सीमा अपराध तथा सीमा विवादजस्ता गहन समस्याहरू रहेका छन् । सशस्त्रले ईलाकामा वोर्डर आउट पोष्ट (वीओपी) स्थापना गरेर यस्ता समस्याहरूको नियन्त्रण गर्दै आइरहेको छ । यसक्रममा कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकाको पशुपतिटोलमा १९ औं वीओपी स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३५ गण हेडक्वार्टर शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार आगामी दिनमा आवश्यकताअनुसार थप वीओपी स्थापना गर्ने योजना रहेको छ । जसले गर्दा सीमानामा हुने अवैध चोरी तस्करी, वन पैदावारको तस्करी, चेलीबेटी बेचविखन, लागूऔषध ओसारपसार, हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण, सीमा अपराध तथा सीमा विवादजस्ता समस्याहरूको समाधान गर्न थप सहज हुने वहाँको बुझाइ रहेको छ ।
लागूऔषध, अपराध तथा अवैध कार्य नियन्त्रण------
सशस्त्रले सीमा ईलाकामा अवैध आवतजावत कार्य नियन्त्रण गर्दै आइरहेको छ । चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा लागूऔषध, हातहतियार, अवैध भारतीय रूपैयाँ तथा जाली नोट ओसारपसार कार्यमा संलग्न २८ जना व्यक्तिहरूलाई पक्राउ गरी थप कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो । त्यसक्रममा सशस्त्रले नक्कली नोट बनाउने मेसिनसहित १ हजार थान कागज, ५ थान १ हजारको नेपाली नक्कली नोट, ३ लाख भारतीय रूपैयाँ र २७ हजार नेपाली रूपैयाँ बरामद गरेको छ ।
यसैगरी २ नाल हातहतियार बरामद गरेको छ भने ब्राउन सुगर, कोरेक्स, नाइट्रोभेट, चरेस, प्रोभिलिन स्पास, Pyeevon Spaspa Plus, Spasmo Preryor Plus र Spasmobak Plus बरामद गर्यो । सशस्त्र प्रहरी उपरीक्षक ऐरका अनुसार उक्त कार्यमा संलग्न २८ जना व्यक्तिहरूलाई सशस्त्रले पक्राउ गर्यो भने उनीहरू सवार १० वटा मोटरसाइकल र स्कुटर बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइयो । त्यसैगरी अवैध गिट्टी बालुवा उत्खनन कार्यमा संलग्न ११ जना व्यक्ति, १ वटा जेसीबी, ९ वटा ट्याक्टर र १ वटा टिप्परलाई नियन्त्रण लिइ सम्बन्धित नपकायमा बुझाएको थियो ।
सीमा विवाद समाधान........
नेपालभारत सीमानाको २५ ठाउँमा भारतीय पक्षबाट सीमा अतिक्रमण भएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले जानकारी गराउनुभएको छ । सीमा विवाद चर्किँदा केही वर्षअघि कञ्चनपुरको दक्षिणी क्षेत्रमा गोविन्द गौतमको ज्यान नै गयो । सीमा विवादका कारण मानवीय क्षति हुन नदिन हाल सशस्त्रले सक्रियता बढाएको छ । यसअघि विवाद रहेको ब्रह्मदेव र प्याराताललगायतका ठाउँमा नेपाली र भारतीय पक्षसँग बसेर उक्त समस्याको समाधान गरिएको छ ।
राजस्व संकलन.......
राज्यको मेरुदण्डको रूपमा रहेको राजस्व सङ्कलनमा सशस्त्रको सक्रियता उल्लेख्य रहेको छ । चालू आर्थिक वर्षमा ३ करोड ४९ लाख ५६ हजार ७ सय ४५ रूपैयाँ बरावरको राजस्व सङ्कलन गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभएको छ ।
उद्धार कार्य.......
कञ्चनपुर सशस्त्रले चेलीबेटी बेचबिखन नियन्त्रणमा समेत सक्रियता देखाएको छ । चालू वर्षको विभिन्न मितिमा ४२ जना चेलीहरूको सशस्त्रले उद्धार गरेको तथ्याङ्क छ । यसैगरी सशस्त्रको टोलीले अन्य दुईजनाको जिवितै उद्धार गरेको छ । ४ जनाको मृत लाश खोजीकार्य, १२ ठाउँमा घर आगलागी नियन्त्रण, २७ ठाउँमा वन डढेलो नियन्त्रणकार्य गर्दै विभिन्न ठाउँमा टोली परिचालन गरी धनजनको क्षति हुनबाट जोगाएको छ ।