माघ ११, २०७९ बुधबार

काठमाडौं । अमेरिकामा सम्पन्न भएको ‘एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौं संस्करणमा विभिन्न कारणले उपस्थित हुन नसकेका चलचित्रकर्मीलाई काठमाडौंमा अवार्ड प्रदान गरिएको छ । अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्डका विजेतालाई काठमाडौंमा अवार्ड प्रदान गरिएको हो ।

विगत पाँच वर्षदेखि चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ प्रदान गरिँदै आएको अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी गराउनुभयो । ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारा लिएर अघि बढेको ग्लोबल नेपाली फिल्म अवार्डले प्राविधिक कारणले अवार्ड कार्यक्रममा भाग लिन अमेरिका जान नपाएकालाई अवार्ड सम्मान तथा मायाको चिनो प्रदान गरिएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताउनुभयो ।

अवार्ड समापन कार्यक्रममा प्रदेश सभासदस्य मदुकुमार श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, विशिष्ठ चलचित्रकर्मी तथा कलाकार नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, प्रेमराजा महत, रविन्द्र खड्का, नवल खड्का, मोहन निरौला, शर्मिला मल्ल, वसुन्धारा भुसाल, चैत्यदेवी, शर्मिला मल्ल, विष्णु गोपाल श्रेष्ठ, नारायण प्रधान, अर्जुनजंग शाही, दिनेश डिसी, नारायण पुरी, यज्ञलाल श्रेष्ठ, छविराज जोशीलगायतको उपस्थिति थियो ।

ग्लोबल नेपाली फिल्मअवार्ड-२०२३ को छैटौं संस्करण संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा आगामी २०२३ अगष्ट १२ तारिखमा हुने नेपाल फिल्म सोसाइटीका अध्यक्ष मल्लले घोषणा गर्नुभयो ।