माघ १७, २०७९ मंगलबार

१७ माघ काठमाडौँ। हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ लाख बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेको देखिएको छ । यो सन् २०२१ को तुलनामा यो बढेको सङ्ख्या हो ।सन् २०२१ सम्ममा यहाँका पचास लाख बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेकामा यस वर्ष थप २६ लाख थपिएका हुन् ।

संयुक्त राष्ट्रसङ्घले हाइटीका यी बालबालिकाले पाउनुपर्ने पोषण तथा आधारभूत स्वास्थ्य सुविधा पनि प्राप्त गर्न नसकेका कारण उनीहरुलाई तत्कालै सहायताको खाँचो परेको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका हुन् । उहाँले हाइटीमा विद्यमान हिंसा, हैजाको प्रकोप, खाद्य असुरक्षा एवं आर्थिक मन्दी आदि कारणले गर्दा यहाँको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएकाले यहाँका लाखौँ बालबालिकालाई खाद्यान्नकै अभाव हुन पुगेको पनि बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले यहाँका बालबालिकाका लागि सहयोग जारी राखेको भन्दै तर यो सहयोग पनि आवश्यकता अनुरुप हुन नसकेकाले यस वर्षका लागि आवश्यक अन्य मानवीयता सहायताका लागि सहयोगको अपिल गरिएको हो । एजेन्सी