माघ २५, २०७९ बुधबार

२५ माघ  काठमाडौं। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा प्रभु बैंकबीच ‘फास्ट बैंकिङ्ग सेवा’ संचालनको सम्झौता सम्पन्न भएको छ ।

‘फास्ट बैंकिङ सेवा’ नेपाली बैंकिङ जगतमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुशन हो । 

सम्झौता पश्चात प्रभु बैंकका ग्राहकहरुले ‘फास्ट बैंकिङ’को आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन् भने यसलाई खुल्ला एपीआई मार्फत मोबाइल बैंकका थप सेवाहरुलाई बैंकिङमा जोड्न सकिन्छ । साथै फास्ट बैंकिङले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको भौतिक उपस्थिति तथा हातले गर्नुपर्ने काममा कटौती गरी सेवा छिटो, छरितो बनाउनेछ । 

गएको २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र प्रभु बैंकबीच भएको सम्झौताले डिजिटल भुक्तानीको क्षेत्रमा थप टेवा पुग्ने आशा गरिएको छ ।