२५ माघ काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्न सक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दावी गर्नुभएको छ ।
महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौतीहरु देखिएको बताउनुभएको हो । उहाँले नेतृत्वले अर्थतन्त्रमा आउने खतराको अनुमान पहिल्यै गर्न नसक्दा अर्थतन्त्र दुर्घटनामा परेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रमा धेरै खाले स्पिड ब्रेकरहरु आएको भन्दै भूकम्प, कोभिडलगायतले सबैलाई असर परेको बताउनुभयो ।
अध्यक्ष गोल्छाले भूकम्प, कोभिडको बेलामा अर्थतन्त्रको लिमिट भन्दा बढी तीब्र गतिमा अगाडि बढ्न खोज्दा अर्थतन्त्रमा अहिलेको अवस्था भोग्नुपरेको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकको नेतृत्वले दूरदृष्टिले नहेर्दा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले अर्थतन्त्रमा सबै भन्दा चलाख बैंकर देखिएको उल्लेख गर्नुभयो ।
उहाँले बैंकरहरु अर्थतन्त्रमा समस्या आउनु भन्दा पहिला नै हामफाल्न सफल हुँदा बैंकहरु ठूलो दुर्घटनामा नपरेको दावी गर्नुभयो । उहाँले अर्थतन्त्र ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकले अर्थतन्त्र दुर्घटनामा पर्नु भन्दा पहिला नै ब्रेक हान्न सफल भएकाले अर्थतन्त्र दुर्घटना पर्नबाट जोगिएको पनि बताउनुभयो । उहाँले सीसीडी रेसियोबाट सीडी रेसियो, आयात प्रतिवन्ध, चालू पूँजी कर्जा सम्बन्धी नीतिले अर्थतन्त्र संकटमा पर्नबाट जोगाए पनि अर्थतन्त्र चलायमान हुन नसकेको बताउनुभयो ।
अध्यक्ष गोल्छाले सरकारले अर्थतन्त्रमा ब्रेक लगाउँदा अर्थतन्त्र बाचे पनि उद्योगी व्यवसायीहरुका हात खुट्टा भाँचिएको बताउनुभयो । उहाँले सरकारले उद्योगी व्यवसायीहरुको हातखुट्टामा मलम लगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले उद्योगी व्यवसायीहरुको समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष गोल्छाले सहकारी र लघुवित्तमा तरलता सहज नहुँदासम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनुभयो । उहाँले तल्लो तहमा तरलता सहज नहुँदासम्म बजारमा माग नबढ्ने र माग नबढ्दासम्म बजारमा आर्थिक गतिविधि बढ्न नसक्ने दावी गर्नुभयो । उहाँले पछिल्लो समय बजारमा माग कम हुँदै गएकाले माग नबढ्दासम्म आयात बढ्न नसक्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष गोल्छाले आयात नबढेको अवस्थामा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने बताउनुभयो । उहाँले सरकारले अर्थतन्त्र जोगाउनेतर्फ मात्रै नलागेर अर्थतन्त्र चलायमान बनाउन तल्लो तहसम्म तरलता सहज हुने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले क वर्गका वाणिज्य बैंकले मात्रै नभई सहकारी र लघुवित्त संस्थाबाट सहजै कर्जा लिन मिल्ने वातावरण बनाएर अर्थतन्त्र चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले विदेशी मुद्राको सञ्चितिमा सुधार,शोधानान्तर स्थिति वचत भएको बताउनुभयो ।
अध्यक्ष गोल्छाले नेपालको जीडीपीभन्दा धेरै ऋण प्रवाह भएपनि वित्तीय क्षेत्रमा जोखिम नरहेको बताउनुभयो। उहाँले नेपालको वित्तीय क्षेत्रले अर्थतन्त्रको आकारभन्दा बढी ऋण प्रवाह गरेपनि उत्पादनमुलक क्षेत्रमा लगानी नभएको संकेत गर्नुभयो । बैंकको धेरै कर्जा व्यापारिक प्रयोजनमा गएको भन्दै ऋण पनि धितोमा आधारित भएकाले जोखिम नभएको उहाँले बताउनुभयो ।