५ फागुन मकवानुपर। साविक विजेता विभागीय टिम त्रिभुवन आर्मी क्लब हेटौँडामा चलिरहेको पाँचौँ स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
हेटौँडा उपमहानगरपालिका ५ को पिप्ले क्याम्पा रङ्गशालामा बिहीवार भएको खेलमा आर्मी अर्को विभागीय टिम सशस्त्र प्रहरी बल ९एपीएफ० सँग पेनाल्टी शुटआउटमा ४–२ गोल अन्तरले पराजित भयो । आर्मी र एपीएफले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी शुटआउटमा एपीएफलाई जिताउन गोलरक्षक राजु नगरकोटी नायक बने । उनले आर्मीका क्याप्टेन नवयुग श्रेष्ठ र दीपक गुरुङको लगातार दुई पेनाल्टी प्रहार रोके । एपीएफका क्याप्टेन नविन लामा, सुदीप सिखाकार, सनिष श्रेष्ठ र दिपेश धिमालले गोल गरे । आर्मीका टेकबहादुर बुढाथोकी र विकास खवासले मात्रै गोल गर्न सफल भए ।
खेलको म्यानअफ द म्याच एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
जितसँगै एपीएफ मकवानपुर गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साविक विजेता आर्मी भने प्रतियोगिताबाटै बाहिरिएको छ । अब एपीएफले आयोजक टोली मकवानपुर–११ र मनाङ मर्स्याङ्दी क्लबबीचको विजेतासँग सेमिफाइलनमा प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीको खेल भोलि शुक्रवार दिउँसो ३ बजे हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १५ लाख र उपविजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीले बाइक र विधागत उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
२०६२र०६३ को जनआन्दोलनका शहीदहरूको स्मृतिमा २०६४ सालमा हेटौँडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल सङ्घले गरेको थियो । पहिलो संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको थियो ।
२०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११, २०७७ मा तेस्रो संस्करण र चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।