काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभएको छ ।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतिपूर्ण समस्याहरु देखिएका भन्दै ति समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभएको हो ।
उहाँले एमाले लगायतका सबै राजनीतिक दलहरु मिलेर जानुपर्ने बताउनुभयो । उहाँले संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष नेपालले आफुले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरु अनुमानका कुराहरु भएको टिप्पणी गर्नुभयो । आफुहरुका बिचमा भएको सहमतिका बारेमा कुरा खोल्ने बेला नआएको उहाँको भनाई छ । उहाँले वामपन्थी शक्तिहरुसँग मिलेर जानका लागि आफुहरुले आब्हान गरिरहेको भन्दै एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
उहाँले आफुहरु एजेण्डा मिल्नेहरुसँग मोर्चा बनाएर अघि बढ्न तयार रहेको पनि बताउनुभयो । अध्यक्ष नेपालले सबैकुरा मिल्नेहरुसँग एकताबद्ध हुन पनि सक्ने भन्दै कुनै पार्टीमा विलय भने नहुने स्पष्ट पार्नुभयो ।