फागुन १५, २०७९ सोमबार

काठमाडौं: इटलीको क्यालिब्रिया सामुद्रिक तटमा आप्रवासी बोकेको एउटा डुंगा डुब्दा कम्तीमा ५९ जनाको मृत्यु भएको छ।

दुर्घटनामा नवजात शिशुसमेत कयौँ बालबालिका परेका छन्। इटलीको एएनएसए न्यूज एजेन्सीका अनुसार स्टेकाडो डि क्याट्रो तटमा २८ जनाको शव भेटिएको छ। अरु शव समुद्रको पानीभित्रबाट निकालिएको छ। अधिकारीहरका अनुसार डुंगामा एक सय आप्रवासी रहेका थिए।

गैरकानूनी बाटो हुँदै युरोप प्रवेश गरिरहेका आप्रवासी बोकेको यो डुंगामा झण्डै ५० जना बालबालिका नै रहेको बताइएको छ। पाकिस्तान, अफगानिस्तान र इराकका आप्रवासीहरु टर्की हुँदै सामुद्रिक बाटोबाट इजली जाँदै गरेका थिए।

खराब मौसमका कारण डुंगा चट्टानमा ठोक्किँदा दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनामा मृत्यु हुनेमा पाकिस्तान र अफगानिस्तानका आप्रवासी धेरै रहेको जनाइएको छ।