फागुन १५, २०७९ सोमबार

१९ वर्षमुनिको आइसिसी विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो खेल जितेको छ।

आज (सोमबार) भएको खेलमा हङकङलाई ९ विकेटले हराएर नेपालले अपराजित यात्रा कायमै राख्दै यू-१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको हो।

जितका लागि हङकङले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभर १ बलमा १ विकेटमात्र गुमाएर भेट्टायो।

नेपालको जितमा आकाश त्रिपाठीले अर्धशतकीय पाली खेल्दै सर्वाधिक ६४ रनको योगदान गरे। उत्तम रंगु थापा मगरले ३९ रन जोड्दा अर्जुन कुमालले १६ रनको योगदान गरे।

त्यसअघि युएईको मलेक क्रिकेट मैदान अजमानमा टस जितेर पहिले ब्याटिङ थालेको हङकङ ४६ दशमलव ३ ओभरमा अल आउट हुँदै १२० रनमा समेटिएपछि नेपालले सामान्य रनको लक्ष्य पाएको थियो।

हङकङका पार्थ भागवतले ३६ तथा मोहम्मद अलियान जाहिरले २९ रनको योगदान गरे। आहान त्रिवेदीले ११ रन जोडे पनि अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका हेमन्त धामीले सर्वाधिक ३ तथा आकाश चन्द र सुभाष भण्डारीले २र२ विकेट लिए।

नेपालले पहिलो खेलमा सिंगापुरलाई र दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो।

जारी प्रतियोगितामा ३ खेलमा ३ जित निकालेको युएई ६ अंक सहित शीर्ष स्थानमा छ। ३ खेलमा तीनै जितसहित ६ अंक नै बटुलेको नेपाल नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ।

२ अंक सहितसिंगापुर तेस्रो तथा त्यति नै अंक जोडेको हङकङ चौथो स्थानमा छ। कुवेत र मलेसियाले अहिलेसम्म एउटै खेल पनि जित्न सकेका छैनन्।