उदयपुर, २४ फागुन: जिल्लाको धार्मिक तथा पर्यटकीय पहाडी क्षेत्र रौतामा स्थानीय जातजातिहरुसँग सम्बन्धित खानाका परिकारप्रति आकर्षण बढ्दै गएको छ । एक वर्षदेखि रौता क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै यहाँका मौलिक खानाप्रति पनि आकर्षण बढेको हो ।
रौता घरबास ९होमस्टे०का सञ्चालक घमण्डबहादुर मगरका अनुसार रौता क्षेत्रका होमस्टेहरुमा स्थानीय जातजातिका खानाका परिकारहरुमा पर्यटकले रुची देखाएका छन् । गत वर्षको माघ महिनादेखि यस वर्षको फागुन दोस्रो हप्तासम्ममा झन्डै ५० हजार पर्यटकले रौताको भ्रमण गरेको मगरले बताउनुभयो ।
यीमध्ये झन्डै १५ हजारभन्दा बढी पर्यटक रौतामा स्थानीय खाना खान र बास बस्नका लागि नै आउने गरेको मगरको भनाइ छ । रौता क्षेत्रमा भ्रमण गर्न आउनेले प्रायः स्थानीय खानाहरु कोदो तथा फापरको ढिँडो, फापरको रोटी, कोदाको तुङ्बा, मकैको भात, सिस्नो, सिन्कीको अचार, गुन्दु्रकका परिकारहरु बढी रुचाउने गरेका छन् । स्थानीय खानाकै लागि उनीहरु होमस्टेमा बास बस्न रुचाउने गरेको अर्का होमस्टे सञ्चालक दमनबहादुर राई बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “सात वर्षदेखि निरन्तर रौतामा होमस्टे सञ्चालन गर्दै आएको छु, विगतका वर्षमा वर्षभरिमा प्रायः एक हजार पर्यटक बास बस्दैनथे तर गत वर्षको मङ्सिरयता झन्डै चार हजारभन्दा बढी पर्यटक मेरो होमस्टेमा बास बसिसकेका छन्, अधिकांश पर्यटकले नितान्त स्थानीय खाना मन पराउँछन् ।” पर्यटकले स्थानीय खाना मन पराउन थालेपछि आफूले दैनिक फापर र कोदाको ढिँडो, रोटी, मकैको भात, कोदाको तुङ्बा र सिन्कीको अचार, गुन्द्रुक होमस्टेमा पकाउने गरेको राई बताउनुहुन्छ ।
यस्तै, होटल रौता पर्यटन हाउसका सञ्चालक शिव अधिकारीले पनि एक वर्षदेखि यता रौतामा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । “रौता क्षेत्रमा भ्रमण गर्न र खान बस्न आउनेको सङ्ख्या वृद्धि भएको छ, रौताको चिसो पानीसँगै स्थानीय परिकारको खाना खान पन पराउने सङ्ख्या बढ्दै गएको छ । त्यसैले गर्दा पर्यटन आगमनमा वृद्धि भइरहेको छ ।”
जाँडमा प्रायः कोदाको तुङ्बा, भात खानामा मकै फापर र कोदाको ढिँडो तथा मकैको भात र सिस्नोसहित लोकल कुखुरा र परेवाहरु मासुहरु खान रुचाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको अधिकारीले बताउनुभयो । प्रायः पूर्वको तराई झापा, विराटनगर, सुनसरीसहित अन्य क्षेत्रबाट बास बस्नकै लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ ।
जिल्ला सदरमुकाम गाईघाट बजारका एक समाजसेवी प्रेमकुमार थापा भन्नुहुन्छ, “वर्षमा चार पटकदेखि ६ पटकसम्म आफू रौतामा बास बस्नकै लागि जाने गरेको छु ।” रौताको चिसो पानी र फापरको ढिँडो, सिन्कीको अचार, मकैको भात र सिस्नोजस्ता खान खानका लागि पनि आफू रौता क्षेत्रमा जाने गरेको उहाँको भनाइ छ ।
पछिल्ला वर्षदेखि रौता क्षेत्रमा स्थानीय अन्य जातजातिहरुको खानाको प्रकारमा पनि वृद्धि गरिएको रौता सिजाली होमस्टेका सञ्चालिका राधा पुलामी मगर बताउनुभयो । मगर भन्नुहुन्छ, “नेवार जातिहरुको छोइला, कचिला तथा दनुवार जातिहरुको हण्डी थारू जातिहरुको लोकप्रिय खाना घुँगीहरु पनि होमस्टेहरुमा उत्पादन गरेर बिक्री गर्न थालिएको छ ।”
स्थानीय जातजातिहरुको खानाको परिकारमा वृद्धि गर्न थालेपछि रौता घुम्न र बस्न जाने पर्यटकहरुको सङ्ख्या दिनानुदिन वृद्धि भइरहेका छन् । पर्यटकको वृद्धिसँगै रौता क्षेत्रमा होमस्टेको आर्थिक कारोबारमा समेत वृद्धि भएको छ । रौता पञ्चकन्या देवीको दर्शन गर्नका साथै रौता क्षेत्रबाट उत्तरी क्षेत्रतिर एकैपटक देख्न सकिने सातवटा हिमशृङ्खालहरु र रौताबाट दक्षिणतर्फका सप्तकोसी, सप्तरी, सिरहा, जनकपुरसहित पूर्वका इटहरी सुनसरीको धरान दुहबी, विराटनगरसहितका दृृश्यहरु हेर्नका लागि पनि रौता क्षेत्रमा पर्यटक आउने गरेका छन् ।
रौतामाई गाउँपालिकाले रौता क्षेत्रमा आउने पर्यटकका लागि सवारी पार्किङ, विद्युत् विस्तारका साथै सडक व्यवस्थापन गरेपछि उदयपुरको रौता क्षेत्र अहिले पर्यटको आकर्षणको केन्द्र बन्दै गइरहेको छ । रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार जिल्लाको त्रियुगा नगरपालिकाको बेलदोभान क्षेत्रबाट रौतासम्म १७ किलोमिटर केबुलकार जडान र रौतामा हेलिप्याडसहित प्रहरी चौकीको कामसमेत व्यवस्थापन गर्न लागिएको छ । आगामी दिनमा रौताको आन्तरिक पर्यटन अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने रौतामाई गाउँपालिकाका अध्यक्ष मगरले बताउनुभयो ।
समुद्री सतहदेखि दुई हजार मिटरको उचाइको उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रमा अवस्थित उदयपुरको रौता पोखरी क्षेत्र धार्मिक तथा पर्यटनको हिसाबले पनि जिल्लाकै महत्वपूर्ण स्थलका रुपमा रहेको छ । उदयपुरको रौताबाट एकै पटक पूर्वी पहाडका सात जिल्लाहरु ओखलढुङ्गा, सोलु, खोटाङ, भोजपुर, सङ्खुवासभा र धनकुट्टा र सिन्धुली अवलोकन गर्न सकिन्छ भने उत्तरी क्षेत्रका सातवटा हिमशृङ्खलासहित दक्षिण तराईका पाँच जिल्ला र पूर्वको विराटनगर, सुनसरी, सप्तकोसीसहितका क्षेत्रहरु अवलोकन गर्न सकिने रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्री बताउनुहुन्छ ।