फागुन २५, २०७९ बिहिबार

पोखरा र मुस्ताङबीच पर्यटन विकासमा साझेदारी गर्नुपर्नेमा जोड दिइएको छ । मुस्ताङका लागि पर्यटकको मुख्य प्रस्थानविन्दु पोखरा रहेको उल्लेख गर्दै दुई जिल्लाबीचमा व्यावसायिक साझेदारी हुनुपर्ने आवश्यकता औँल्याइएको हो ।

    पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) द्वारा मुस्ताङमा आयोजित अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमका वक्ताहरूले पर्यटकीय रुपमा पोखराबाट मुस्ताङ र मुस्ताङबाट पोखरा एकआपसमा लाभान्वित हुँदै आएको बताउनुभयो । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले पोखराबाट मुस्ताङ पर्यटकीय रुपमा लाभान्वित बन्दै आएको बताउँदै साझेदारीका माध्यमबाट दुवै स्थानका पर्यटकीय गतिविधि बढाउनुपर्ने बताउनुभयो ।

    “मुस्ताङका स्थानीयवासी ‘अतिथि देवो भवः’ को मन्त्रलाई सदैव आत्मसात गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “प्राकृतिक, धार्मिक एवं सांस्कृतिक रुपमा मुस्ताङ महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।” पर्यटकीय विकाससँगै मुस्ताङका स्थानीयवासी उत्पादनसँग पनि जोडिने अभियान सुरु गरिएको बताउँदै उहाँले यहाँ उत्पादित अन्न, स्याउलगायत फलफूल आदिको प्रशोधन गर्ने काय पनि सुरु गरिएको बताउनुभयो ।

    घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनले यस क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि पोखराको सहयोग आवश्यक रहेको बताउनुभयो । प्राकृतिक सौन्दर्यतासँगै धार्मिक एवं सांस्कृतिक रुपमा यहाँको महत्व रहेको बताउँदै उहाँले पर्यटन लक्षित योजनालाई अघि बढाउन लागिएको बताउनुभयो । 

    व्यवसायी आनन्दराज मुल्मीले मुस्ताङ गण्डकी प्रदेशको गहना भएको बताउँदै यो धार्मिक पर्यटनको विशिष्ट गन्तव्य रहेको उल्लेख गर्नुभयो । बौद्ध धर्मगुरु पद्मसम्भवले यहीबाट बौद्ध धर्मको प्रचारप्रसार गरी त्यसले विश्वव्यापी स्थान लिए पनि हामीहरूले त्यसको प्रचारप्रसार गर्न नसकेको उहाँले बताउनुभयो । विभिन्न सांस्कृतिक मेला तथा महोत्सव पनि मुस्ताङको मौलिकता भएको भन्दै उहाँले यसको प्रवद्र्धन जरुरी रहेको बताउनुभयो । “मुस्ताङको दीगो पर्यटकीय विकासका लागि यहाँका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदा जोगाउनु आवश्यक छ”, मुल्मीले भन्नुभयो ।
    
    पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन आइसकेका अवस्थामा मुस्ताङका उत्पादनलाई विश्व बजारमा पु¥याउने गरी लाग्नुपर्ने बताउनुभयो । टेवानका अध्यक्ष कमला गिरीले पोखरा र मुस्ताङको पर्यटकीय सम्बन्ध बढाउनकै लागि मुस्ताङमा प्रवद्र्धनात्मक कार्यक्रम ल्याइएको बताउनुभयो । कार्यक्रमकै अवसरमा मुस्ताङका युवा तथा महिला पर्यटन व्यवसायीलाई लक्षित गरी क्षमता अभिवृद्धि एवं डिजिटल मार्केटिङ तालिम आयोजना गरिएको बताउँदै उहाँले यसबाट अधिकतम फाइदा लिन आग्रह गर्नुभयो ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले पर्यटनको विकासका लागि उत्पादन, प्रवद्र्धन र बजारीकरण आवश्यक भएको बताउनुभयो । मुस्ताङका मौलिक संस्कार र संस्कृतिको प्रवद्र्धन जरुरी रहेको बताउँदै उहाँले पर्यटकका बसाइ अवधि लम्ब्याउनका लागि पूर्वाधार विकासलाई पनि जोड दिनुपर्ने बताउनुभयो । “मुस्ताङमा हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बी पर्यटक तान्न सकिने विविधतायुक्त स्थान हो, यसलाई लक्षित गरी प्रवद्र्धनमा जोड दिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।    

    घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापा थकालीले पोखरा र मुस्ताङको पर्यटकीय साझोदारीले दुवैलाई अधिकतम फाइदा पुग्ने बताउँदै त्यसका लागि एकआपसमा सहकार्य र समन्वय आवश्यक भएको बताउनुभयो । कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको टोलीले शुक्रबार नेपाल चीनबीचको कोरला नाका पुगी फर्कने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।