फागुन २९, २०७९ सोमबार

काठमाडौँ, २९ फागुन (रासस) : अभिनव साहित्य समाजले प्राज्ञ विष्णु प्रभातलाई रु २० हजार नगदसहित अभिनन्दन गरेको छ । समाजको स्थापना दिवस तथा २२औँ वार्षिकोत्सव समारोहमा उहाँलाई सम्मान गरिएको हो । 

    सो अवसरमा वेदमणि अभिनव गजल पुरस्कार शान्ति शर्मालाई प्रदान गरिएको छ । रु १० हजार नगदसहित उहाँलाई सम्मानित गरिएको हो । यसैगरी, कार्यक्रममा समाजसेवी मुसुरी लामालाई पनि सम्मान गरिएको थियो ।

    कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल र उपप्रमुख सान्नानी लामालाई बधाई, शुभकामना र अभिनन्दन पत्र प्रदान गरिएको थियो । सो अवसरमा कलाकार जानुका भट्टराई, केशवराज मैनालीलगायतले ‘बेचिएकी चेली’ नामक नाटक प्रस्तुत गर्नुभएको थियो ।  

    नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानजस्तो गरिमामय संस्थाबाट नेपाली भाषाको गौरवमय परम्परालाई तोडमरोड गर्ने कामको सुरुआत हुन थालेकाप्रति आपत्ति जनाउनुभयो । तोडमोड गर्ने काम नरोकिएमा त्यसविरुद्ध लाग्न बाध्य हुने उहाँको भनाइ थियो । 

    नगरप्रमुख रिसालले नगरपालिकालाई साहित्यको हब मनाउन क्रियाशील संस्थाका रुपमा अभिनवलाई लिएको बताउनुभयो । नगरभित्र रहेका सबै साहित्यिक संस्थालाई सहयोग गरिएको उहाँले बताउनुभयो । उपप्रमुख लामाले साहित्य उत्थानको काममा सहयोग गर्न नगरपालिका तत्पर रहेको उल्लेख गर्नुभयो । महिला साहित्यकारलाई उत्प्रेरणा दिने काममा पनि नगरपालिकाले विशेष सहयोग गर्ने उहाँको भनाइ थियो । 

    अभिनन्दित व्यक्तित्व प्रभातले प्रकृतिपूजक, शक्तिपूजक, शैव, ब्रह्म, साङ्ख्य ९देवहुतिद्वारा प्रतिपादित० र बौद्ध दर्शन गरी छवटा दर्शन नेपाली भएकाले सबैको प्रवद्र्धनमा साहित्य सृजना हुनुपर्नेमा जोड दिनुभयो । समाजका अध्यक्ष वेदमणि घिमिरेले प्राज्ञताको प्रचलित मापदण्ड विपरीत प्रज्ञा–प्रतिष्ठान गठन गरेकामा सुधार हुनुपर्ने माग गर्नुभयो ।