फागुन २९, २०७९ सोमबार

घोराही, २९ फागुन: दाङको घोराहीदेखि करिब २७ किलोमिटर पूर्व–दक्षिणमा पर्ने हाँसीपुर बङ्गलाचुली गाउँपालिका–८ विकट र पहाडी बस्ती हो । यहाँका अधिकांश बासिन्दा पानीको अभावका दुई ठाउँमा बस्दै आएका छन् । पानी नहुँदा यहाँ पशुपालन तथा अन्नपात उत्पादनसमेत  हुँदैन । खानेपानी, अन्नपातका साथै पशुपालनका लागि समस्या हुन थालेपछि अधिकांश स्थानीयवासी पहिलेदेखि नै दुई ठाउँमा बस्दै आएका हुन् ।

 हाँसीपुरलाई मूल थलो बनाए पनि पशुपालन, खेती र घाँस दाउराका लागि सोही वडाको सालबास, गुराँसे र भुल्केमा यहाँका मानिसको बसोबास रहेको स्थानीयवासी सर्मिला गाहामगरले बताउनुभयो । उहाँका अनुसार सालबास, गुराँसे र भुल्केमा बसेर मौसमअनुसार खोलाका किनारामा खेतीपातीसँगै गाईभैँसी, बाख्रा गरिदै आइएको छ ।

यहाँ रहेका करिब ७० घरमध्ये ८५ प्रतिशत मगर समुदायको बसोबास छ । भौगोलिक विकटताका कारण केहीवर्ष अघिसम्म सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीलगायत विकासका पूर्वाधारबाट वञ्चित थियौँ । अहिलेसडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत सुविधा उपलब्ध भए पनि नियमित सेवा नहुँदा सास्ती भोग्नु परेको स्थानीयवासीले बताए ।
विकासको पहिलो आवश्यकताका रूपमा रहेको सडक सञ्जाल विस्तारले केही सहज भए पनि नियमित सेवा नहुँदा समस्या हुने गरेको सोही ठाउँ निवासी कमल विश्वकर्माले बताउनुभयो । “भौगोलिक विकटताका कारण बाटो सहज छैन, एक झरी पानी पर्ने वित्तिकै बाटो बिग्रिने हुँदा गाडी चल्दैनन्”, उहाँले भन्नुभयो, “पानी प¥यो भने सिमलतारासम्म मात्रै बस आउँछ, यता आउँदैन ।” 

गाउँमा हाँसीपुर स्वास्थ चौकी भए पनि जनशक्ति र औषधि अभावका कारण यहाँका बासिन्दा घोराही पुग्ने गरेको स्थानीयवासी गोपाल गाहामगरले बताउनुभयो । “सामान्य बिरामी हुँदा जाँचसँगै औषधिका लागि स्वास्थ्यचौकी जाने हो । कहिले औषधि त कहिले कर्मचारी नै हँुदैनन्, त्यसैले घोराही जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । गाउँमा अहिले खानेपानीको समस्याका साथै सञ्चार सुविधा नहुँदा कृषिका लागि सिँचाइको सुविधा छैन । “खानेपानीको धारा बनेको छ, अब गर्मी याम सुरु भएसँगै धारामा पानी आउँदैन । खोलाबाट पानी ल्याएर पिउनु पर्छ”, गोपालले भन्नुभयो । उहाँका अनुसार यहाँ दश भन्दामाथि पढ्ने विद्यालय छैनन् । जनप्रतिनिधिलाई जानकारी गराउँदा सुनुवाइ नभएको उहाँको गुनासो थियोे ।