जेठ ४, २०७८ मंगलबार

केशव पन्त 'सवितु:'

केशव पन्त 'सवितु:

नेपालमा दिनानुदिन कोरोना भाइरसकाे सङ्क्रमण दर तीव्ररूपमा वृद्धि भइरहेको छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पनि उत्तिकै रहेको छ । तर पनि यसले सङ्कटको रूप लिएको अवस्था छ ।

यो लेख लेखिरहँदा सन् १९४३ तिरको भयानक अनिकालको पृष्ठभूमिमा लेखिएको एउटा कथाको स्मरण भयो । 'शहरमा ठूलो अनिकाल परेको हुन्छ । मान्छेहरू भोकभोकै मरिरहेका हुन्छन् तर चामल बेच्ने व्यापारीहरूले भने चामलको भाउ बढाउनका लागि चामल लुकाइरहेका हुन्छन् । जति चामल कोलोबजारी गर्नसक्यो त्यति मुनाफा आर्जन भइराखेको हुन्छ । चामल पसलको अगाडि मानिसहरू भोकै मर्छन् तापनि ती व्यापारीलाई केही फरक पर्दैन । तर ती कालोबजारी गर्न उद्यत व्यापारीहरू दयालु प्रवृत्तिका हुन्छन् । जनताको दु:ख देखेर ठाउँठाउँमा चना राखिदिन्छन् र अकालले सडकमा मरेका मानिसहरूको दाहसंस्कार उचित हिसाबले होस् र मान्छे जलाउने घाटहरूमा दाउराको कमि नहोस भनेर चन्दा दिन्छन् ।'

ठ्याक्कै यस्तै कथा नेपालका प्रसंगमा पनि मिल्न गएको छ । कोरोनाका कारण देश थिलथिलो भएको छ । नागरिकहरू भयभीत र त्रसित छन् । यस्तो विषम परिस्थितिमा सरकारले केही गर्न नसक्ने भन्दै हात खडा गरिदियो । यसैबीच नेपाल सरकारका एक मन्त्रीको 'पशुपति आर्यघाटमा दाउराको कमि हुन नदिनू' भन्ने निर्देशन उद्धृत गर्दै मिडिया र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छाएको छ ।

अस्पतालको सुदृढ अवस्था, त्यहाँ चिकित्सकको व्यवस्थापन, स्वास्थ्य सामग्रीलगायतको जोहो गर्नेतर्फ सरकारले जसरी ध्यान दिनुपर्ने हो त्यसरी कुनै अनुकरणीय कार्यको आरब्ध हुन सकेको छैन । बिरामीलाई आवश्यक पर्ने अक्सिजनको जोहोभन्दा दाउराको जोहो गर्नेतर्फ उनीहरूको ध्यान केन्द्रित भएको देखिन्छ । नागरिकको जीवनरक्षा त कहाँ हो कहाँ उल्टै मृत्यु रुचाउने सरकार छ हाम्रो ।

भनिन्छ नि- 'आधा दु:ख गलतसँग भरोसा राख्दा हुन्छ भने बाँकी दु:ख सहीलाई संशय गर्दा हुन्छ ।' सेवक सरकारको परिकल्पना गरेका नागरिकहरूले राजकाजमा हालिमुहाली भएका पात्रहरूलाई विश्वास गर्दा यतिबढी दु:ख झेल्नुपरेको छ । राज्यको संयन्त्र सही तरिकाले परिचालन नहुँदा भरोसा गर्नुपर्नेलाई पनि संशय गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।यस्तो अवस्थामा सरकार आफ्नो टालेको भकारी निकाल्ने दिन पर्खेर बसेको छ ।

यस्ता विषम परिस्थितिसँग जुध्न 'शिक्षा र अभ्यास' यी दुईकुरा निकै महत्वपूर्ण मानिन्छन् । देशानले प्रभावित भएका अवस्थामा नागरिकले आफू सुरक्षित भएर बस्ने विधिको अवलम्बन गर्नुपर्दछ । यसरी नागरिकहरू सचेत भइदिए भने सरकारलाई समेत सङ्क्रामक रोग नियन्त्रण गर्न सहज हुन्छ । त्यसैगरी राज्यले पनि आफ्ना संयन्त्रहरूलाई तम्तयार बनाएर राख्नुपर्ने हुन्छ भने योजनाबद्ध तवरले तिनीहरूको परिचालन गराउनुपर्ने हुन्छ । सरकारले पहिला आफ्नो बजेट परिचालन गर्नुपर्ने हो । नागरिकप्रति उसले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने हो । हितकारी राज्य र सेवक सरकारको कामको नागरिकलाई अनुभूति दिलाउनुपर्ने हो । तर सरकारले त्यसमा निकै विलम्ब गर्‍यो ।

समयमै तयारी थाल्नुपर्ने भए तापनि अहिले आएर सरकार थोरै सक्रिय भएको हो कि जस्तो लागेको छ । अब सरकारले उपलब्ध साधनस्रोतको यथोचित व्यवस्थापन गर्दै आवश्यक सामाग्रीहरूको जोहो गर्नाका लागि समेत अन्य संघ संस्थाहरूलाई सहयोगको अनुरोध गर्न सक्छ । केही संस्थाहरूले अक्सिजनलगायतका सामाग्रीहरूको जोहो गर्नाका लागि राहत सङ्कलन अभियान सञ्चालन गरेका छन् । अक्सिजन कन्सन्ट्रेटर खरिद, अस्पताल र बिरामीलाई आवश्यक अक्सिजन सिलिन्डरको व्यवस्था, बिरामीको औषधोपचार गर्नाका लागि भनेर सञ्चालित अभियानमार्फत् दैनिक लाखौँ रकम सङ्कलन भइरहेको छ । यस परिस्थितिमा सरकारले सहयोगीको भूमिका निर्वाह गर्दै ती संस्थाहरूलाई परिचालन गराउनुपर्दछ ।