तुलसीपुर, ४ चैत (रासस) : दाङमा मगर खाम भाषा संरक्षणमा चासो दिइएको छ । मगर खाम भाषामा नयाँ पुस्ताले चासो दिन थालेको भन्दै खाम भाषा संरक्षण गर्न थालिएको हो । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङले यो अभियान थालेको हो । “मगर संस्कार, संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्नका लागि हामी सक्रिय छौँ”, प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनले भन्नुभयो, “पछिल्लो समय नयाँ पुस्ताले मगर खाम भाषामा चासो दिन छोडेका छन् ।”
परम्परागत खाम भाषा बोल्ने भाषिक समुदायको अभाव हुँदा यो भाषा लोप हुँदै गएको उहाँको भनाइ छ । यो भाषा बोल्ने पुराना व्यक्तिको मृत्यु हुनु र नयाँ पुस्तामा खाम भाषा स्थानान्तरण नहुँदा लोप हुँदै गएको उहाँले बताउनुभयो । रिडीको पश्चिम भाग दाङ हुँदै कर्णाली प्रदेशसम्म बोलिने १८ मगरातको (खाम) रिडीको पूर्वी भागमा बोलिने १२ मगरातको (मैढुट) र सुदूरपश्चिममा बोलिने ९काइकेल० भाषा मगर समुदायका प्रमुख भाषीका रहेका छन् ।
मगर भाषाको खास लिपि पनि छैन । “अख्का लिपि हो भनेर भ्रममा पार्ने गरिन्छ”, पुनले भन्नुभयो, “तर, त्यो मगरको लिपि होइन, त्यसैले देवनागरिक नै हामीले स्वीकारेका छौँ”, रोल्पा, रुकुमबाट दाङ बसाइँसराइ गरी आएका मगर समुदायको मुख्य भाषा खाम भए पनि यो समुदायमा नेपाली भाषाको प्रभाव धेरै रहेको उहाँको भनाइ छ । बालबच्चाले नै पहिलो भाषाका रुपमा नेपाली भाषामा बोलचाल गर्न थालेसँगै खाम पूरै लोप हुने अवस्था रहेको उहाँले बताउनुभयो । नेपालमा २५ लाख मगर समुदाय रहे पनि करिब १९ लाखले मात्रै मगर भाषा बोल्ने गर्छन् ।