चैत ५, २०७९ आइतबार

कञ्चनपुर, ५ चैत: भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रु एक लाख ५१ हजार नगद  उपलब्ध गराउने भएको छ । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरुस्कृत गर्ने भएको हो । दुवै  खेलाडी नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

हालै काठमाडौँमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स ९युएई०लाई पराजित गरी जिम्बाबेमा हुने एकदिवसीय विश्वकप ‘क्वालिफायर’मा पुग्न सफल भएकामा दुवै खेलाडीलाई नगद पुरुस्कारसहित सम्मान गरिने नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताउनुभयो ।

“नगरप्रमुखले सार्वजनिक कार्यक्रममै दुवै खेलाडीलाई पुरस्कृत गरिने घोषणा गरिसक्नुभएको छ, छिट्टै कार्यपालिकाको बैठक बसेर निर्णय गर्छौँ”, उहाँले भन्नुभयो । “नगरको गरिमा उच्च राख्नमा दुवै खेलाडीले अहम् भूमिका निर्वाह गरेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले पुरस्कृत गर्न लागेका छौँ ।” गृहनगरमा आएका बेला दुवै जनालाई पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो ।
  
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको थियो । जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ ।