चैत २२, २०७९ बुधबार

न्युयोर्क,२२ चैत (रासस /एपी) : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ । 

न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उहाँले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गर्नुभएको छ । 

अमेरिकाको इतिहासमा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति उहाँको औँठा छापमात्र लिइएको थियो । उहाँका कानुन व्यवसायीले विश्व प्रख्यात उहाँको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए । अभियोजकहरूले पनि उहाँको तस्बिर नलिई ट्रम्पलाई अदालतमा प्रस्तुत गरेका थिए । उहाँलाई हत्कडी पनि लगाइएको थिएन । अदालतमा उहाँ आफ्ना कानुन व्यवसायीहरूसँगै बस्नुभएको थियो । अदालतमा उहाँ शान्त तर गम्भीर देखिनुहुन्थ्यो । करिब एक घण्टाको सुनुवाईपछि उहाँ अदालतबाट बाहिरिनुभएको थियो । 

अदालतबाट बाहिरिनेवित्तिकै ट्रम्प फ्लोरिडा फर्कनुभएको छ । उहाँ अदालतबाट बाहिरिँदा उहाँका समर्थकहरूले उहाँमाथि लगाइएका अभियोग र मुद्दा देशको अपमान भएको टिप्पणी गरेका थिए । आफूमाथिको मुद्दा राजनीतिक रूपमा प्रेरित भएको भन्दै उहाँले न्यायाधीश र अभियोजकहरूको पनि आलोचना गर्नुभयो । बिना प्रमाण आफूमाथि दोष लगाइएको दाबी पनि उहाँले गर्नुभयो । “अमेरिकामा यस्तो हुनसक्छ भन्ने मैले कहिल्यै कल्पना पनि गरेको थिइँन । आगामी राष्ट्रपतीय चुनावलाई प्रभावित पार्न यो झुठा मुद्दा लगाइएको हो । यो तत्काल खारेज हुनुपर्छ,” उहाँले भन्नुभयो । 

न्यायाधीश जुआन मर्चनले उहाँमाथि कुनै आदेश जारी नगरे पनि दुवै पक्षलाई संयमित भएर शिष्ट भाषामा ध्यान आग्रह गर्नुभयो । उहाँले आफूमाथि लगाइएको मुद्दाविरुद्धको आगामी अगष्टसम्ममा प्रस्ताव पेश गर्नुपर्नेछ । अदालतको अर्को सुनुवाई डिसेम्बरमा हुनेछ ।