चैत २६, २०७९ आइतबार

गलेश्वर, २६ चैत (रासस) : जिल्लाका स्थानीय तहहरुले स्थानीय तथा रैथाने बालीको संरक्षण तथा प्रर्वद्धन गरी किसानलाई प्रोत्साहन गर्ने नीति लिएका छन् । तर नीतिअनुसार कार्यान्वयनको अवस्था भने कमजोर देखिएको छ । रैथाने बालीको प्रयोग विद्यालयको दिवा खाजामा हुन सक्ने भए पनि यहाँका स्थानीय तह र विद्यालयको ध्यान जान भने सकेको छैन ।

    विद्यालयमा बाँडिने दिवा खाजामा गाउँमै फलेका अन्नबालीको प्रयोग गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल शिक्षक सङ्घ म्याग्दीका पूर्व अध्यक्ष दुर्गाराम सुवेदीले विद्यार्थीलाई पौष्टिक आहार पनि हुने र किसानले आफूले गरेको उत्पादनको राम्रो मूल्य पनि पाउने भएकाले विद्यालयमा दिइने खाजाका परिकारमा स्थानीय उत्पादन प्रयोग हुनुपर्ने बताउनुभयो ।

    विद्यालयको दिवा खाजामा कोदो‚ मकै र फापरको ढिँडोका साथै सिमी, बोडी, मस्याङका परिकार समावेश गरी साताको एक दिन स्थानीय बालीको परिकार दिन सक्ने हो भने रैथाने बालीको सम्मान र बालबालिकामा पौष्टिक तत्वको विकास दुवै गर्न सकिने उहाँको भनाइ थियो ।

    बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु माविका प्रधानाध्यापक भरत खत्रीका अनुसार नगरपालिकाको कृषि समितिले स्थानीय उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गरेर सोही बजेटको परिधिमा रही रैथाने उत्पादनको खाजाका परिकार बनाउने व्यवस्था मिलाइदिए विद्यालयमा स्थानीय उत्पादनबाट विद्यार्थीहरुलाई दिवा खाजा खुवाउन सकिने बताउनुभयो ।

    नगरपालिकाले विद्यालयका प्रतिनिधिलाई सहभागी गराएर कोदो, मकै, फापरका ढिँडोलगायत परिकार बनाउने तालिम दिने हो भने नगरपालिकाका सबै विद्यालयले रैथाने उत्पादनका कृषि उपजबाट विद्यार्थीलाई खाजा खुवाउन सक्ने उहाँको भनाइ थियो । यसबाट स्थानीय कृषकलाई आफ्ना रैथाने कृषि उपजको बिक्री वितरणमा समस्या नहुने जिल्लाका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । म्याग्दीका ६ स्थानीय तहका दुई सय २४ सामुदायिक विद्यालयमा अध्ययनरत करिब ३५ हजार विद्यार्थीमध्ये बालकक्षादेखि कक्षा ६ सम्मका विद्यार्थीलाई सङ्घीय सरकारले चालु आर्थिक वर्षमा दिवा खाजाका लागि रु पाँच करोड २२ लाख विनियोजन गरेको छ ।