बैशाख ४, २०८० सोमबार

किमाथाङ्का, ४ वैशाख: सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा तीन दिवसीय आधारभूत माउन्टेन बाइक प्रशिक्षण सुरु भएको छ । सङ्खुवासभाको पर्यटन प्रवर्द्धनका साथै साइक्लिङ खेललाई जिल्लाको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने उद्देश्यले बाइक प्रशिक्षणको आयोजना गरिएको आयोजकले जनाएको छ ।

    खाँदबारी नगरपालिका, खाँदबारी युथ क्लब, उद्योग वाणिज्य महासङ्घ सङ्खुवासभा र साइकल एसोसिएसन सङ्खुवासभाको संयुक्त आयोजनामा तीन दिवसीय बाइक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । साइक्लिङ रुटका लागि ६० किलोमिटर बराबरको सम्भाव्यता अध्ययन गरेर साइक्लिङ रुट उपलब्ध गराउने खाँदबारी नगरपालिकाका प्रमुख मेहश थपलियाले प्रतिबद्धता जनाउनुभयो । 

    साइक्लिङ खेलको विकासका लागि गुठिटार, रमिते, छ्याङ्कुटीमा यसको सम्भावना देखिएको छ, यसलाई अगाडि बढाउने नगरप्रमुख थपलियाले बनाउनुभयो । सङ्खुवासभा जिल्ला भौगोलिक र सांस्कृतिक हिसाबले धनी रहेको भन्दै उहाँले यस क्षेत्रमा पनि उठाउन जरुरी रहेको बताउनुभयो । 

    कार्यक्रममा साइकल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष एवं सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सिंहबहादुर श्रेष्ठले नयाँ पुस्तालाई साइक्लिङतर्फ प्रेरित गराउनुका साथै पर्यटकीय प्रवर्द्धनका हिसाबले सहभागी गराउन युवा पुस्तालाई सुरुआती दिनमा आधारभूत कुरा सिकाउने बताउनुभयो । 
    कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, खेलकुद विकास बोर्डका पदाधिकारी, प्रमुख प्रशिक्षक धनजित राई ९सन्तोष राई०, साफ गेममा स्वर्ण पदक विजेता निश्मा श्रेष्ठ, एसोसिएसनका संस्थापक अध्यक्ष मनिस राईलगायतको उपस्थिति थियो ।