बैशाख १७, २०८० आइतबार

गलकोट, १७ वैशाख: एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि यहाँको शालिग्राम सङ्ग्रहालयमा पर्यटकको सङ्ख्या बढेको छ । 

विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ नगरपालिका-४ कुडुँलेस्थित शालिग्राम सङ्ग्रहालयमा पर्यटक आउने क्रम बढ्दै गएको छ । 

तीन वर्षदेखि सर्वसाधारणलाई खुल्ला गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा पर्यटक बढेका हुन् । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका-४ कुँडुलेमा रहेको तिरुपति बालाजी धाममा श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय निर्माणपछि शालिग्राम दर्शनका लागि आउने पर्यटकको सङ्ख्यामा बढेको सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो । 

“हिन्दूधर्मालम्बीका लागि कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) शालिग्राम अति पुजनीय मानिन्छ, यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ, वैष्णव र सनातनीहरुले शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिन्छन्”, प्रपन्नाचार्यले भन्नुभयो । 

शालिग्राम दर्शनका लागि पर्यटकहरु भारतसहित नेपालका विभिन्न स्थानबाट यहाँ आउने गरेका छन् । चैतयता विभिन्न विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धर्मलम्बी पनि अवलोकन भ्रमणका आएको उहाँको भनाइ छ । 

अहिले औषतमा दैनिक एक सयदेखि दुई सयको हाराहारीमा पर्यटक गुफाभित्रको शालिग्राम दर्शनका लागि आएको अध्यक्ष प्रपन्नाचार्यले बताउनुभयो । शालिग्रामको महिमा बढाउनका लागि सङ्ग्रहालयले शालिग्राम महोत्सव, यससम्बन्धी प्रवचन गर्दै आएको छ ।

स्थानीय रामप्रसाद शर्माले सुरुमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालय भन्दा धेरै मानिस झुक्किने गरे पनि  अहिले शालिग्राम गुफा खोज्दै आउनेहरु बढेको बताउनुभयो । “शालिग्राम दर्शनका रु एक सयको टिकट काट्नुपर्छ । मुक्तिनाथ पुगेका भारतीय पर्यटक समेत शालिग्राम दर्शनका लागि बागलुङको बाटो भएर आउजाउ गर्न थालेका छन् । सङ्ग्रहालयका कारण कुडुँलेमा व्यापार तथा व्यवसायसमेत फष्टाएको छ । 

शालिग्राम शिलाको संरक्षणका लागि बागलुङमा सङ्ग्रह गरिएको हो । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृति बनाइएको छ । भगवना शिवको अस्त्र त्रिशूल आकारमा भू–गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरिएको छ । सङ्ग्रहालयमा तीन सय केजी तौलसम्मका शालिग्राम सङ्ग्रहित गरिएको छ ।