जेठ १३, २०७८ बिहिबार

सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संविधानभन्दा बाहिर जाने अधिकार कसैलाई नभएकाले आवश्यक परे आफूले ठोस् कदम चालेर अघि बढ्ने बताएका छन् । बिहीबार कानुनविद्हरूसँगको छलफलमा सभामुख सापकोटाले संसद विघटनपछि उत्पन्न परिस्थितिबारे विश्लेषण गरिरहेको र आवश्यक परे संविधानले दिएको अधिकार प्रयोग गरेर अघि बढ्ने बताएका हुन् । ‘देश र जनताको हितभन्दा दायाँ–बायाँ गर्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘आवश्यक पर्दा मैले नेपाली जनताले दिएको निहीत अधिकार प्रयोग गर्नुपर्छ ।’ 

सभामुख सापकोटाले देश र जनताका लागि संविधानको मर्म र भावनालाई ठीक ढंगले आत्मसाथ गरेर अघि बढ्न आफू तयार रहेको पनि बताए ।  ‘अहिले उत्पन्न परिस्थितिलाई मैले मसिनो गरी नियालिरहेको छु,’ उनले भने, ‘आवश्यक परे देश र जनताका लागि संविधान अनुसार अघि बढ्न म तयार हुन्छु ।’ सभामुख सापकोटाले  संसद विघटन गरेर देशलाई अध्यादेशबाट चलाउन खोजिएको प्रति पनि असन्तुष्टि  जनाए । ‘जननिर्वाचित थलो संसदलाई विघटन गरेर अध्यादेशबाट देश चलाउन खोज्नु बेठीक हो,’ उनले भने, ‘प्रतिनिधिसभाको अधिकारको हनन कसैले गर्न मिल्दैन ।’