बैशाख २१, २०८० बिहिबार

गलकोट, २१ वैशाख: पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको यहाँको सोलेडाँडालाई प्रवर्द्धन गर्न गाउँपालिका लागेको छ । तमानखोला गाउँपालिकाले पूर्वाधार निर्माण पछि सोलेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन प्रवर्द्धनात्मक कार्यक्रम थालेको हो । वरपर घना जङ्गलको बीचमा रहेको दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाँडाको पूर्वाधार विकासमा लगानी गर्दै आएको गाउँपालिकाले प्रचारप्रसारको कामसमेत गर्न थालेको छ । 

    सोलेडाँडामा सडकसहित अन्य पूर्वाधार निर्माण गरेको गाउँपालिकाले प्रचारप्रसारका लागि प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्न थालेको हो । गाउँपालिकाले सोलेडाँडा प्रवर्द्धनका लागि सोलेडाँडामै पुगेर पर्यटन संवाद कार्यक्रमसमेत गरेको छ । 

    पर्यटनको विकासका विषयमा होटल तथा सभाहलमा मात्रै बहस भइरहेका सन्दर्भमा सो गाउँपालिकाले सोलेडाँडामै पुगेर पर्यटनका विषयमा छलफल र प्रवर्द्धन गरेको छ भने आगामी दिनमा समेत पर्यटन सूचना केन्द्र, घरबासलगायतका आवश्यक कुरा स्थापना गर्ने तयारी थालेको छ ।  गाउँपालिकाले पर्यटनको विकास तथा प्रचारप्रसारका लागि यही मङ्गलबार सोलेडाँडामै पुगेर पर्यटन बहस गरेर प्रवर्द्धनको अभियान थालेपछि यहाँका स्थानीयसमेत उत्साहित बनेका छन् । 

    यहाँका स्थानीयले सोलेडाँडा पुग्ने सडक सहज बनाउनुपर्ने, पर्यटकलाई आवासको व्यवस्थापन मिलाउनुपर्ने र सोलेडाँडाको महत्वलाई विश्वसामु पु¥याउन गाउँपालिकाले भूमिका खेल्नुपर्ने बताउँदै आएका छन् ।  

    स्थानीय उदिम छन्त्यालले तमानखोलाका पर्यटकीय गन्तव्य अवलोकनका लागि आउने पर्यटकका लागि घरबास स्थापना गर्नुपर्ने बताउनुभयो । “गाउँपालिकाले पूर्वाधारमा लगानी गरेको छ, तर त्यहाँ पुग्ने सहज सडक छैन, सडक कम्तीमा ग्राभेल बनाउने, सोलेडाँडामा अतिथि आवास बनाउनेतर्फ ध्यान दिन आवश्यक छ”, छन्त्यालले भन्नुभयो, “यहाँको पर्यटन सम्भावनाका विषयमा नागरिकस्तरमा उजागर गर्नु पर्दछ, पूर्वाधारसँगै प्रचारप्रसार आवश्यक छ ।” तमानखोलामा सोलेडाँडासहित बराह ताल, नौ डल्ले पहाड, ढोमैथानलगायतका स्थान अत्यन्तै पर्यटकीय सम्भावनायुक्त रहेको जनाइएको छ । 
 
    बागलुङको तमानखोला-४ र म्याग्दीको मालिका गाउँपालिकाको सिमानामा पर्ने सोलेडाँडा लोभलाग्दो पर्यटकीयस्थल भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा पर्यटकको आगमन सोचेजस्तो बढाउन नसकिएको स्थानीय नरकुमार गोतामेको भनाइ छ । 

    सोलेडाँडामा सहिद स्मृति पार्क, सत्तल, शौचालय र खानेपानीलगायतको पूर्वाधारमा रु २० लाख बजेट खर्च भइसकेको तमानखोलाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । सोलेडाँडाबाट प्राकृतिक दृश्यावलोकन, हिमऋङ्खला, सूर्योदय र चैत तथा वैशाखमा लालीगुराँसको वन हेर्न यहाँ पर्यटक पुग्ने गरेका छन् । 

    उहाँले भन्नुभयो, “चैत र वैशाखमा लालीगुराँस फुल्दा र हिउँदमा सोलेडाँडालार्ई हिउँले छपक्कै छोप्दा सोलेडाँडाको आर्कषक थप हुन्छ, पालिकाले रु २० लाख लगानीमा केही पूर्वाधार निर्माण गरेको छ, अब खाँचो स्तरीय सडक र प्रचारप्रसारको हो ।”

    यहाँबाट बागलुङ र म्याग्दीका दर्जन गाउँसँगै धौलागिरि, धौलाश्री, माछापुच्छ्रे, मानापाथीलगायत दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय सोलेडाँडामा म्याग्दी र बागलुङ दुवैतिरबाट घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएको भए पनि खान तथा बस्ने सुविधा नभएको स्थानीय बताउँछन् । गाउँपालिकाले सहिदको सम्मानका लागि गाउँपालिकाले पूर्वाधार निर्माणसँगै सहिदको सालिकसमेत निर्माण गरेको छ ।