बैशाख २१, २०८० बिहिबार

जुम्ला, २१ वैशाख: स्थानीय सिञ्जा गाउँपालिकास्थित प्रसिद्ध मन्दिर केदारनाथलगायत थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका स्थल प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावमा ओझेलमा परेका छन् । समुद्री सतहदेखि करिव तीन हजार ५०० मिटर उचाइमा केदारनाथ मन्दिर छ । 

यस धार्मिक क्षेत्रमा केदारनाथको मूल कुण्डभित्र चडाइएका सयौंँ वर्ष पुराना तामा, पित्तल र चाँदीका सिक्काको थुप्रो र हजारौँं वर्ष पुरानो मनिएको धातुजडित उत्कृष्ट कालीगढीका  गौमुख भएका नुहाउने धारा थिए । स्थानीय बासिन्दाका अनुसार सबै सशस्त्र द्वन्द्वकालमा हरायो । 

यो मन्दिर भारतका चार धामभन्दा पनि पुरानो भएको मानिन्छ । अहिले केदारनाथ मन्दिरमा पुरानै आकारमा गौमुख धारा बनाएका छन् । काठबाट बनेका गाईका तस्वीर छन् । ढुङ्गा कुँदेर बनाएका मूर्ति पनि राखिएका छन् । जिल्लाकै सबैभन्दा आकर्षण मानिएको पवित्र तीर्थस्थल केदारनाथलाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रसँग जोड्न पहिलो पटक गाउँपालिकाले सम्भाव्यता अध्ययनदेखि केदारनाथको महत्व र यसको परिचानबारे सम्मेलनसमेत गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।
 
मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल यस मन्दिरको थप आकर्षक बनेको छ । सानो पानीको कुण्डले यहाँ आउने जो कोहीको पनि मन लोभ्याउने गरेको छ ।  साउन पूणिमाको एकादशीको दिनमा ठूलो मेला लाग्ने भएकाले पूजाका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट यहाँ आउने गरेका छन् । यस क्षेत्रमा पर्यटन क्षेत्र विकास र पूर्वाधार निर्माणको लागि काम सुरु गरिएको जानकारी दिँदै अध्यक्ष धितालले केदारनाथसम्म सडक निर्माण भैसकेको र अब प्रचारप्रसारका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताउनुभयो ।
 
केदारनाथलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न पदमार्ग निर्माण गर्न सकिने वडा नं ४ का अध्यक्ष धनजीत बुढाले जोड दिनुभयो । भाकल गरिएको कुरा पुग्ने विश्वासका साथ अहिले यहाँ पूजा गर्न र अवलोकनका लागि सुर्खेत, कालीकोट, अछाम, मुगु र बाजुरालगायत स्थानबाट धार्मिक पर्यटक आउन थालेकोे स्थानीयवासी धनबहादुर बुढाले बताउनुभयो ।

यस धार्मिक स्थललाई  स्वदेश तथा विदेशमा चिनाउनका लागि प्रचारप्रसार  गर्न र  नेपालकै  प्रमुख पर्यटकीय  केन्द्रको रूपमा विकास गराउनसके  सिञ्जा क्षेत्रको विकासमा टेवा पुग्ने सुर्खेतको चौकुने गाउँपालिकाबाट आउनुभएका बुद्ध रोकायाको भनाइ थियो ।