डुम्रे, २३ वैशाख: तनहुँको देवघाट गाउँपालिका–५ देवघाटधाममा सञ्चालित गुरुकुल आत्मनिर्भर बन्ने प्रयासमा जुटेको छ । महेश सन्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुल आत्मनिर्भर बन्ने उद्देश्यले आयस्रोत जुटाउन लागिपरेको हो ।
आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुल, महेश गुरुकुल संस्कृत विद्यापीठ र रामानन्द अनुसन्धान केन्द्र रहेका छन् । विशेषगरी वटुकलाई धर्म, संस्कृति र संस्कार सहितका शिक्षा दिने उद्देश्यले सञ्चालित गुरुकुलले वटुकको पठनपाठनलाई सहज बनाउन दीर्घकालीन आयआर्जन गर्न लागेको आश्रमका व्यवस्थापक सन्तोष गिरीले जानकारी दिनुभयो । संस्कृत गुरुकुल दीर्घकालीन रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले पुस्तक प्रकाशन गर्न थालिएको उहाँले बताउनुभयो ।
“आर्थिक पक्षलाई दीर्घकालीन आम्दानीको स्रोत स्थापना गर्ने उद्देश्यले पाठ्यपुस्तक प्रकाशनको प्रयास गरेका छौँ, संस्कृतका पुस्तक अल्पसङ्ख्यक रुपमा प्रकाशित हुन्छन्, यसले दीर्घकालीन आयस्रोत निर्धारण गरेका छौँ”, व्यवस्थापक गिरीले भन्नुभयो । संस्कृत गुरुकुलमा पठनपाठन हुने पुस्तक, संस्कृतका दर्शनका पुस्तक प्रकाशन गरिएको उहाँले बताउनुभयो ।
आश्रमले हालसम्म संस्कृत पाठ्यपुस्तकसहित ३०÷३५ पुस्तक प्रकाशन गरिसकिएको र यसले आयस्रोतको बाटो निर्धारण भएको गिरीले बताउनुभयो । पुस्तक प्रकाशनले थोरै भए पनि आम्दानीको आयआर्जन गर्न थालेको उहाँले बताउनुभयो ।
“पाठ्यपुस्तक, संस्कृत दर्शनका पुस्तक प्रकाशनका क्रममा वटुकलाई नै टाइप, सम्पादन, सच्याउने, कम्प्युटर सेटिङ गर्न सिकाउछौँ, यहाँ अध्यापनरत गुरु, महाराजद्वारा लिखित पुस्तक वटुकले टाइप, सम्पादन, सच्याउने, कम्प्युटरमा सेटिङ गर्ने कार्य गर्छन्, यसले वटुकको व्यक्तित्व विकास हुन्छ र पुस्तक प्रकाशनमा संस्थालाई व्ययभार कम हुने गर्दछ”, उहाँले भन्नुभयो ।
वटुकको व्यक्तित्व विकाससँगै संस्थालाई पुस्तक प्रकाशनमा व्ययभार कम हुने गरेको उहाँले बताउनुभयो । आश्रमद्वारा प्रकाशित पाठ्यपुस्तक मुलुकभरका अधिकांश गुरुकुलमा पुगेको उहाँले बताउनुभयो । “बजारमा बिक्रीका लागि पठाउन सकिएको छैन, मुलुकका गुरुकुलमा अध्यापनका लागि भने पुस्तक पठाउन थालेका छौँ, प्रचारप्रसारकै क्रममा रहेका छौँ”, व्यवस्थापक गिरीले भन्नुभयो ।
पोखराको नदीपुरस्थित महर्षि वैदिक गुरुकुल, काठमाडौँको नैनीसारङ्गी गुरुकुल, बुटवलको दुर्गा गुरुकुल, देवघाटधामका अन्य गुरुकुल र अन्य कन्या गुरुकुलमा आश्रमद्वारा प्रकाशित पाठ्यपुस्तक पठाउने गरिएको उहाँले बताउनुभयो । सरकारले संस्कृतका लागि सञ्चालित गुरुकुल संरक्षण गर्ने र स्रोतसाधन जुटाइदिने वातावरण गरिदिए सुरक्षित गर्न सकिने आश्रमको अपेक्षा छ ।
देवघाटधामका गुरुकुल तरकारी र दूध उत्पादनमा आत्मनिर्भर रहेका छन् । हरिहर संस्कृत गुरुकुलले धानखेतीसमेत गर्न थालेको छ । वटुकले खेती गरी खाद्यान्नमा आत्मनिर्भर गर्नतर्फ लागिरहेका छन् । आफैँ उत्पादनमा जुटेपछि खाद्यान्न सहयोगका लागि अपिल गर्नुपर्ने अवस्थाको अन्त्य हुने आश्रमले जनाएको छ ।