जनकपुरधाम, ४ जेठ: मधेस प्रदेशसभा सदस्यहरूले सङ्घीयता, जनजीविका र सुशासनका पक्षमा प्रभावकारी काम गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रदेशसभाको आजको बैठकमा बोल्ने सदस्यहरूले प्रदेशसभाको छ महिना र सरकार गठनको पाँच महिना हुँदा पनि प्रभावकारी काम हुन नसकेको भन्दै गति बढाउन सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिपक्षी दलको नेताका हैसियतमा बैठकमा विशेष समय सुरु हुनुअघि बोल्नुभएका नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता सरोजकुमार यादवले सदन र सरकार प्रभाकारीरूपमा चल्ने अपेक्षासहित सबैभन्दा ठूलो दल एमाले प्रतिपक्षमा बसे पनि सदनले काम र सरकारले पूर्णता नपाएको भन्दै आलोचना गर्नुभयो ।
“हामीले गठबन्धनको सहजताका लागि सरकार छोड्यौँ, अहिलेसम्म सरकार पूर्ण भएको छैन । थुप्रै ऐन, कानून बनाउन र संशोधन गर्न बाँकी छ तर सदनले काम पाएन”, यादवले भन्नुभयो, “यस्तो अभ्यासले सङ्घीयतालाई बलियो बनाउँदैन । सङ्घ र बाँकी छ प्रदेशले पनि सङ¬्घीयताको सवाल उठ्दा जनकपुर ९यहाँको सरकार र सदन० लाई हेर्छ भन्ने हेक्का राख्नुपर्छ । त्यसैले सरकारले छिटो पूर्णता पाओस् र सदनलाई ‘बिजनेस’ दिइयोस् ।”
बैठकको विशेष समयमा बोल्नुहुने प्रदेशसभा सदस्यहरू शत्रुधनप्रसाद सिंह, नागेन्द्र साह, सरोजकुमार सिंह, सतिशकुमार सिंह, जवाहरलाल कुशवाह, रमिता प्रधान, कनिश पटेल, उर्मिलादेवी सिंह, प्रमोदकुमार जयसवाल, देवनारायण थारू, अञ्जना पण्डित, रामअशिष यादव, अनिताकुमारी साह, लखन दास तत्मा, श्यामप्रसाद पटेल र दीपेन्द्र ठाकुरले बजेट फ्रिज जाने अवस्था अन्त्य गर्दै खर्च गर्ने क्षमता बढाउन, कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्रमा जनताले अनुभूत गर्ने गरी कार्यक्रम ल्याउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले संविधानले प्रदेशको शासन प्रशासन प्रदेशको मन्त्रिपरिषद्मा निहित रहने व्यवस्था गरे पनि निजामती कर्मचारी ऐन, प्रहरी समायोजनलगायतका काम नहुँदा प्रदेशले काम गर्न नसकेकाले सङ्घ सरकारसमेत सङ्घीयता कार्यान्वयनमा गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आजको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवको तर्फबाट सामाजिक विकासमन्त्री सुरिताकुमारी साहले मधेस प्रदेशका सम्बन्धमा महालेखापरीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९ सदनसमक्ष प्रस्तुत गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो २ बजे बस्ने छ ।