जेठ १०, २०८० बुधबार

काठमाडौँ, १० जेठ:  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरसहितको टोलीलाई आज सिंहदरबारस्थित कार्यकक्षमा सम्मान गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर बुढामगर सबैको प्रेरणाको स्रोत बनेको बताउनुभयो । उहाँले बुढामगरलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभूषण प्रदान गर्नेगर्छ ।

उहाँलाई पनि सरकारले उच्च सम्मान गर्नुपर्छ र यसका लागि आफ्नो तर्फबाट पहल हुन्छ ।” बुढामगरले हिमाल चढ्न सुरुमा अनुमति लिन जाँदा नदिएको स्मरण गर्दै आज सम्मान पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकालाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताउनुभयो ।

शारीरिकरूपमा अशक्त भएका व्यक्तिलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बुढामगरको भनाइ थियो । उहाँले भन्नुभयो, “आज सम्मानित हुन पाउँदा निकै खुसी छु । यो मेरो मात्र नभई सम्पूर्ण अपाङ्गता भएका व्यक्तिको सम्मान हो ।

नेपालमा सबैलाई स्वागत छ भन्ने कुरा यहाँबाट सन्देश गएको छ । पहिला प्रतिबन्ध हुँदा नेपालमा स्वागत छैनजस्तो म्यासेज गएको थियो, यसले सबैलाई स्वागत छ भन्ने कुराको सन्देश दिएको छ । आफ्नो आरोहणले नेपालमा भएका र संसारमा अपाङ्ग भएका व्यक्तिले जिन्दगी सकिएको छैन, केही न केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ ।” बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको हो ।

यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अङ्गविच्छेदन)’ व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गर्नुभएको छ । (प्रोस्थेटिक) कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गर्नुभएको हो ।

झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुभएको थियो ।