जेठ १४, २०८० आइतबार

बझाङ, १४ वैशाख: अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष बिताएपछि विसं २००३ मा ‘भू–स्वर्ग’ पुग्नुभयो । आश्रम बनाउने मजदुर नभेटिएपछि फर्केर लोखाडा (बझाङको खप्तडछान्ना गाउँपालिका–३ खप्तडको फेदी) नजिकै स्थानीयको सहयोगमा कुटी बनाएर तपस्या गर्न थाल्नुभयो ।

विसं २००६ मा खप्तडमा अभ्रखखानी उत्खनन गर्न जाँदा तत्कालीन बझाङी राजा रामजङ्गबहादुर सिंहसँग बाटोमै खप्तड बाबाको भेट भयो । इतिहासका जानकार विष्णुभक्त शास्त्रीका अनुसार पहिलो भेटमै बाबासँग प्रभावित भएका राजा रामजङ्गले खप्तडमा आश्रम निर्माण गरिदिने बचन दिनुभयो । सोही वर्ष खप्तडमा आश्रम बन्यो र खप्तड बाबा साधनाका लागि खप्तड सर्नुभयो ।

गर्मीयामका छ महिना खप्तड लेक र छ महिना खप्तडछान्नाकै दारूगाउँ गरेर खप्तडबाबाले ५० वर्ष खप्तड क्षेत्रमा साधना गरेर बिताउनुभयो । लामो समय खप्तडमा बिताउनुभएका खप्तड बाबाले आफ्ना नाम भने खुलाउनुभएन । युगपुरूष भन्दै धेरैले उहाँको नाम ‘श्री १००८ स्वामी परमहंस परिव्राजकाचार्य योगीराज श्रोत्रीय ब्रह्मनिष्ठ पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका निष्णात जीवनमुक्त महात्मा सच्चिदानन्द सरस्वती’ राखिदिनुभयो । स्थानीयले भने छोटो नाम ‘खप्तड बाबा’, ‘खप्तड स्वामी’ राखे र सोही नामले सर्वत्र चिनिनुभयो । उहाँकै कारण अहिले पनि खप्तडले प्रसिद्धि कमाइरहेको छ ।

खप्तड बाबासँग राजपरिवारको निकटता

विसं २०३८ को वैशाख महिनामा तत्कालीन राजा वीरेन्द्र हेलिकोप्टरमा सुदूरपश्चिम भ्रमणमा निस्किनुभयो । कर्णाली नदी हुँदै बाजुराको आकाश भएर खप्तड पुग्नुभएका राजालाई पहिलोपटक खप्तड बाबाले नै स्वागत गर्नुभयो । रानी ऐश्वर्यासँगै खप्तड पुग्नुभएका राजा वीरेन्द्रले बाबासँग लामो भलाकुसारी र विचार मन्थन गर्नुभयो ।

खप्तड बाबाबारे जानकार प्राध्यापक शिवगोपाल रिसालले लेखेको श्रीखप्तड बाबा महाकाव्यमा उल्लेख भएअनुसार राजा वीरेन्द्र हरेक वर्ष बाबालाई भेट्न सपरिवार, सहयोगीसहित खप्तड गइरहनुहुन्थ्यो । आफूलाई केही तनाव भए, मुलुकमा केही सङ्कटजन्य परिस्थिति आए राजा वीरेन्द्र खप्तड बाबासँग सल्लाह लिन आइहाल्नुहुन्थ्यो ।

खप्तडमा जडीबुटीबारे अनुसन्धान गर्दै ‘धर्म विज्ञान’, ‘विचार विज्ञान’सहित करिब डेढ दर्जन पुस्तक लेख्नुभएका खप्तड बाबा र राजा वीरेन्द्रबीच निकटता बढेपछि उहाँ काठमाडौँसमेत जान थाल्नुभयो । प्राध्यापक रिसालका अनुसार राजा वीरेन्द्रले खप्तड बाबाका लागि बुढानीलकण्ठमा एउटा आश्रमसमेत बनाइदिनुभएको थियो । उहाँको निधन हुनुभन्दा साता दिन अगाडि पनि बुढानीलकण्ठमै हुनुहुन्थ्यो भन्ने जानकारहरू बताउँछन् ।

लामो समय खप्तडमा साधना गर्नुभएका बाबाको आश्रममै बिरामी भएपछि हेलिकोप्टरमा काठमाडौँ ल्याउने क्रममा कालीगण्डकी नदीमाथिको आकाशमा २०५३ वैशाख २७ गते ब्रह्मलीन भएको इतिहासकार शास्त्री बताउनुहुन्छ । उहाँका अनुसार बाबाको निधन र वीरेन्द्रको वंश नाशपछि राजपरिवारका सदस्य खप्तड आउन छाडेका थिए । “जीवित छँदा भने गङ्गादशहरामा दर्शन गर्न हरेक वर्ष पूर्वराजा वीरेन्द्र खप्तड पुग्ने गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

स्वामी खप्तड पस्नुअघि भने त्यो क्षेत्र लेकमात्रै थियो । घना जङ्गल हुँदा मध्यवर्ती क्षेत्रका बासिन्दासमेत पाटनमा आवतजावत खासै गर्दैनथे । खप्तडसँग स्वामी गासिएपछि भने खप्तडले आफ्नो सौन्दर्यताको प्रचार पायो ।

‘उच्चपदस्थका व्यक्ति’को भ्रमणपछि बाक्लिए पर्यटक

विसं २०७३ असारमा पूर्वयुवराज पारस शाहदेखि पूर्व मुख्यसचिव लिलामणि पौड्यालसहितको टोलीले खप्तड भ्रमण गर्नुभएको थियो । त्यसभन्दा अघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदासमेत गङ्गादशहरा मेलामा मन्त्री, सचिवसहित जम्बो टिम हेलिकोप्टरमा खप्तड पुगेको थियो ।

पूर्व युवराज पारस शाहसँग स्व धिरेन्द्र शाहकी छोरी शिताष्मा शाह, पूर्वप्रहरी प्रमुख हेमबहादुर सिंहका छोरा प्रवनजङ्ग सिंह (आध्यात्मिक नामः योगी व्याग्र वेदनाथ) सहित १५–२० जनाको टोली खप्तड पुगेको थियो ।

वेदनाथ ‘बाबा’ बनेकै कारण साधनाका गर्न खप्तड पुग्नुभएको थियो । त्यसबेलामा खप्तडमा असुविधाका कारण सबै आवश्यक सरसामानको चाँजोपाँजो मिलाएर भरियासहित खप्तड जानुभएको थियो । पूर्वराजा वीरेन्द्रले उच्च अधिकारीका लागि बनाएको पाहुनागृहमा बसेर पारसको टोलीले एक साता बिताउनुभएको थियो भने पौड्यालको टोली दुई दिनमै फर्किएको थियो ।

विसं २०७३ मङ्सिर २३ मा तत्कालीन प्रधानमन्त्री (वर्तमानसमेत प्रधानमन्त्री) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडको अवलोकन गर्नुभएको थियो । दार्चुलास्थित चमेलिया जलविद्युत् आयोजनाको अनुगमनमा जानुभएका प्रधामन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरमार्फत खप्तड पुग्नुभएको थियो । खप्तडमा उहाँले केही समय बिताएर फर्कनुभएको थियो ।

यसरी उच्चपदस्थका व्यक्तिको भ्रमणपछि खप्तडमा पर्यटकको सङ्ख्या बढ्दै गएको हो । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काका अनुसार उच्चपदस्थका व्यक्तिको भ्रमणपछि हरेक वर्ष सयौँको सङ्ख्यामा आन्तरिक र १०–१५ जना विदेशी पर्यटक थपिँदै गएका छन् ।
 
योग शिविरमै बाक्लो उपस्थिति

गत वर्ष खप्तड क्षेत्रमा पहिलोपटक योग शिविर सञ्चालन हुँदा सहाभागीको सङ्ख्या बाक्लो रह्यो । योग जागरणका लागि ‘सुन्दर सुदूरपश्चिम खप्तड योग ध्यान शिविर २०७९’ नामक शिविर तीन दिनसम्म चलेको थियो । जसमा अढाइ सयभन्दा बढी योग साधक सहभागी थिए ।

नेपाली सेनाको श्री नम्बर ५ बाहिनी अड्डा राजपुर ब्यारेक दिपायल, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा चिन्तामणिनाथ योगी, योगगुरू पुष्पराज पुरूषसहितको टोली एक सातासम्मै खप्तड बस्नुभएको थियो ।

खप्तडमा बाबा व्याग्र वेदनाथ भने साधनाका लागि पटक–पटक खप्तड पुगिरहनुहुन्छ । खप्तडमा रहेको नेपाली सेनाका अनुसार खप्तड बाबापछि धेरैपटक खप्तडमा आएर साधाना गर्नेमा वेदनाथ नै पर्नुहुन्छ । गङ्गादशहरा मेलामा आउने बाबाहरू भने दुई–तीन दिन धर्मशालामा बसेर फर्किने गरेको दर्शनार्थीको बुझाइ छ ।