जेठ १७, २०८० बुधबार

गण्डकी, १७ जेठ: पोखरामा जारी एसिया प्रशान्त क्षेत्रका ट्राभल सङ्घ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३  को अवसरमा विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा पाटा इन्टरनेशनलका अध्यक्ष पिटर साइमोनले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी लगायतलाई स्पेशल अवार्डबाट सम्मान गर्नुभएको हो । 
कोभिड १९ को महामारीको तथा आर्थिक मन्दिका अवस्थामा नेपालको पर्यटन क्षेत्र चलायमान बनाउन तथा समग्र पर्यटन प्रर्वद्धनका लागि डा. रेग्मीले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पाटा इन्टरनेशनले उहाँलाई सम्मान गरेको अध्यक्ष पिटरले बताउनुभयो । 

उक्त अवसरमा अध्यक्ष पिटरले पाटा स्पेशल अवार्डबाट डा रेग्मीका साथै सिङ्गापुरका सुन ह्या वोङ, मेम्बरसीप अवार्डबाट चीनका मारिया डी सेन्ना फर्नान्डिज र पाटा अवार्ड अफ मेरिटबाट क्यानडाका डा चरिस ब्रोट्रिललाई पनि सम्मान गर्नुभएको थियो ।

अवार्डपछि प्रतिक्रिया दिँदै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले यो अवार्ड समग्र नेपाली पर्यटन क्षेत्रको सम्मान भएको धारणा राख्नुभयो । सम्मानले आफूलाई नेपालको पर्यटन क्षेत्रमा थप काम गर्न जिम्मेवारी थपिएको महसुस भएको उहाँले प्रतिक्रिया दिनुभयो ।