जेठ २१, २०८० आइतबार

काठमाडौँ, २१ जेठ: पर्यटन प्रबर्द्धनका लागि यही जेठ २३ देखि २६ सम्म काठमाडौँमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आयोजना हुन लागेको हो ।
 
मार्टको सम्पूर्ण तयारी पूरा भएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ)  सुरेशसिंह बुडालले जानकारी दिनुभयो । उहाँका अनुसार मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । जसमा ५० क्रेता र ५० बिक्रेताले सहभागिता जनाउनेछन् । मार्टमा विभिन्न विधामा १५ भन्दा बढी वक्ताले प्रस्तुति दिनुहुनेछ ।
 
कोरोनापछिको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग पु¥याउनुका साथै मुलुकमा सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सक्रिय रुपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले विशेष सत्र सञ्चालन हुने सिइओ बुडालको भनाइ छ । 

“दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सम्बन्धित क्षेत्रका विज्ञलाई बोलाएर छलफल तथा रायसुझाव लिइनेछ”, उहाँले भन्नुभयो । 

‘रि-कनेक्टिङ, रि-बिल्डिङ र रि-इन्भिगोरेटिङ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मार्ट अन्तरदेशीय पर्यटन प्रवद्र्धन र सम्भावित बजारमा प्याकेज बिक्री वितरणमा उपयोगी हुने विश्वास लिइएको छ । 

मार्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ । देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाका रुपमा स्थापित मार्टले पुनरुत्थानको दिशामा अघि बढेको मुलुकको पर्यटन क्षेत्रलाई थप गतिशिल बनाउन तथा हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मद्दत पुग्ने विश्वास लिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, पाटा अन्तर्राष्ट्रियलगायत पर्यटन क्षेत्रका विभिन्न सङ्घ-संस्थाको विशेष सहयोग तथा सहकार्यमा मार्ट आयोजना गर्न लागिएको हो । 

सन् २०१७ देखि २०१९ सम्म वार्षिकरुपमा आयोजना हँुदै आएको मार्ट कोभिड-१९ महामारीका कारण सन् २०१९ पश्चात आयोजना हुन नसकेको थिएन ।
 
नेपाललाई विश्वसामु ‘हिमालय प्रवेशद्वार’ साहसिक पर्यटनको केन्द्र तथा सबल पर्यटन मैत्री गन्तव्यको बलियो ब्राण्डका रुपमा स्थापित गर्ने प्रमुख उद्देश्यका साथ हरेक वर्ष मार्ट आयोजना हुँदै आएको छ ।