गण्डकी, २५ जेठ (रासस) : कोरोनालगायतका कारण सुस्ताएको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) को पुनः प्रवर्द्धन एवं बजारीकरण गरिने भएको छ ।
मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना एवं नेपाल पर्यटन बोर्डको सहआयोजनामा एवं प्रवर्द्धनमा उक्त पदमार्गको पुनःबजारीकरण गर्न लागिएको हो । पदयात्रा पर्यटनमा गति लिँदै गरेको अवस्थामा विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीले यस पदमार्ग क्षेत्र प्रभावित बनेसँगै यसको पुनःप्रवर्द्धन एवं बजारीकरण अपरिहार्य भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो ।
“कोरोना महामारीपछि यस क्षेत्रको पदयात्रा सुस्ताएको छ”, उहाँले भन्नुभयो, “सुस्ताएको पदयात्रा पर्यटनलाई पुनःजागरण गराउने उद्देश्यका साथ यही जेठ २६ गतेदेखि ३१ गतेसम्म यस क्षेत्रमा प्रवर्द्धनत्मक कार्यक्रमलाई अघि बढाएका छौँ ।”
विसं २०५६ देखि सञ्चालनमा आएको मिलेनियम ट्रेकको पहिलो नक्साङ्कन २०६४/६५ मा गरिएको थियो । समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार सात सय १५ मिटर उचाइसम्मको यो पदयात्रा मार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि उपयुक्त मानिन्छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने यो पदमार्ग ७२ किमी लम्बाइको छ ।
प्रवर्द्धनात्मक कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी एवं यस पदमार्ग क्षेत्रका सरोकारावालासहित २५ जना सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमअन्तर्गत जेठ २६ गते तनहुँको दुलेगौँडाबाट सुरु हुने पदयात्रा जेठ ३१ गते स्याङ्जाको रामबाछामा पुगी सम्पन्न हुनेछ । पदयात्राका क्रममा पदमार्ग क्षेत्रका ऐतिहासिक ढोर मुलकोट दरबार, रजस्थल, घरेडी, मिलेनियम गुफा, काल्खु, राइपुर, कोल्मा, भैसेगौँडा, चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिंगारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी आदि स्थानमा पुग्ने कार्यक्रम तय भएको महासचिव गुरुङले जानकारी दिनुभयो ।
उक्त अवसरमा त्यहाँका प्रकृति र संस्कृतिका विविधता, अत्यावश्यकीय पूर्वाधारबारे पनि स्थानीयबाट जानकारी लिइने उहाँले बताउनुभयो । पदयात्रासँगै यहाँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्य, ऐतिहासिक पहिचानलाई समेट्न सकेमात्रै पनि यस गन्तव्यलाई विश्व पर्यटन बजारसँग जोड्न सकिने समिति सदस्य एवं मिलेनियम भैसेगाँैडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङ बताउनुहुन्छ ।
कोरोना महामारीअघिसम्म पदमार्ग क्षेत्रमा सञ्चालित होमस्टेमा पर्यटक आउनेक्रम बढे पनि त्यसयता पर्यटकको आगमन कमी भएको उहाँले बताउनुभयो । पछिल्लो समयमा देशव्यापी बढ्दै गएको आर्थिक मन्दीको प्रभावले पनि पर्यटन क्षेत्रमा असर पारेको उहाँको भनाइ छ ।
समितिले पदमार्ग क्षेत्रका ऐतिहासिकस्थलको संरक्षणसँगै तिनीहरूको प्रवर्द्धनमा पनि जोड दिदै आएको छ । समितिले पदमार्ग क्षेत्रको झन्डै तीन सय वर्ष पुरानो ढोर मूलकोट दरबारसहित त्यहाँका गढी, शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घर आदिको भग्नावशेष समेतलाई संरक्षण गर्ने लक्ष्य राखेको छ । दरबार क्षेत्रलाई तारबार गरिसकिएको महसचिव गुरुङले जानकारी दिनुभयो ।
समितिकै पहलमा चन्द्रकोटस्थित सतौँ राजाको ‘समरप्यालेस’को संरक्षणस्वरुप तारबार गरिसकिएको छ । चन्द्रकोट दरबार नेपालका बाइसेचौबीसे राजाको पालाका सतौँका राजाको हिउँदे दरबारका रुपमा चिनिन्छ ।
समितिकै पहलमा पदमार्ग क्षेत्रकै भिरकोट कालिका जाने बाटो निर्माण गरिसकिएको छ भने त्यहाँको किल्लाको संरक्षण गर्ने योजना राखिएको छ । त्यस्तै पदमार्गमा नै पर्ने मिलेनियम गुफाको तारबार, शौचालय निर्माणलगायतका काम सम्पन्न भइसकेका छन् ।
राइपुरस्थित जन्तेढुङ्गालाई व्यवस्थित गर्ने योजना राखेको समितिले त्यहाँ जन्तीका मूर्ति ढुङ्गामा खोप्ने तयारी गरेको छ । पदमार्गस्थित गहते मनकामना जाने सिँढी बाटो निर्माणसँगै उक्त स्थानमा पार्क निर्माणका काम अघि बढाइएको छ ।
पदयात्रामार्गमा पर्ने देउपुजी ढुङ्गा, एक हजार सात सय नौ मिटर उचाइको बुढाकोट आदिको संरक्षण र प्रवर्द्धनलाई समितिले जोड दिएको छ । कोरोनालगायतका कारण सुस्ताएको यस क्षेत्रको पदयात्रा पर्यटनलाई प्रवर्द्धनत्मक कार्यक्रमले पुनःजागरण ल्याउने अपेक्षा गरिएको नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचारप्रसार अधिकृत गोपाल भण्डारीले बताउनुभयो ।