जगत्मा काम नलाग्ने वनस्पति नभएजस्तै समाजमा काम नलाग्ने मानिस पनि हुदैनन् । तर धेरै समाजहरूमा संयोजन गर्नसक्ने योजक पाउन चाहिँ गाह्रो छ ।
नेपाली समाजमा नश्लीय विभाजन र राजनीतिक पहिचानको मुद्दा कसले कुन उद्देश्यले छिरायो ? नश्लीय विभाजन गरेर, घृणाको खेती कसले कुन अभिष्ट पूरा गर्न प्रवेश गरायो ? समस्याको पहिचान त सबैले गरिरहेका छन् । तर जाति, प्रजाति, प्रादेशिक समुदाय, धार्मिक सम्प्रदाय, लैङ्गिक, आर्थिक तथा समाजका अन्य विशेषताका आधारमा एकअर्कालाई प्रतिस्पर्धी र प्रतिद्वन्द्वी ठहर्याउन विभिन्न नाम, साइनबोर्ड राखेका विदेशी-विधर्मी प्रतिमानका मतियारहरूले सबैका विरुद्ध घृणा किन विकसित गराउँदै छन् ? समयमै चिन्तन गरौँ ।
विदेशी-विधर्मीको चास्नी चाट्ने लोभी, स्वार्थी, पापी दृष्टिकोण त्यागौँ र नेपाली समाजको प्राचीनतासँग अविच्छिन्न रहेको मूलधारको सहृदयात्मक संस्कृति अवलम्बन गरौँ र अँगालामा राखेर सुम्सुम्याउँदै मुसार्दै कोखामा छुरी हान्ने नेपाली समाजको खास दुश्मन चिन्न अबेर नगरौँ ।
संसारका सबै समाज समस्यामा छन् । हाम्राजस्तो समस्या तिनको नहोला तर सबै आ-आफ्ना समस्याहरूलाई पहाडजत्रै ठूलो ठानेर किंकर्तव्याविमूढमा अनिर्णयको बन्दी बनेका छन् । सबै वैचारिक जालहरू तोड्दै विदेशी-विधर्मी प्रतिमानको माखेसाँङ्लो भत्काउँदै आफ्नै विवेक र स्वकृयात्मक अग्रसरतामा समाजमा व्याप्त समग्र समस्याहरू पहिचान गर्दै नेपाली समाजको समन्वित संस्कृति विकास गर्न स्वकृयात्मकरूपमा अग्रसर बनौँ । समाजका विद्यमान समस्याहरू- जातीय, नश्लीय कित्ताकाट गरेर प्रतिकृयात्मकता तथा प्रतिद्वन्द्वीतालाई संस्थागत गर्दै विदेशी-विधर्मीको स्वार्थी अभिष्ठ पूरा गर्न एक्लाएक्लै समस्याहरूको पहिचान गर्न अस्वस्थ प्रतिस्पर्धा हैन समाजका साझा समस्याहरूको पहिचान गर्न अलि नजिक-नजिक सरौँ ।
जातीय विभेदको अन्त्य गर्न थरको बहस व्यर्थ र निरर्थक हो । जातीय जटिलताको समस्या जातको मात्रै कारण देख्नु, बलात्कारको कारण पोशाक र अपराधको कारण रक्सीमा देखाएर मूल कारणको बिषयान्तर गरेजस्तो मात्रै हो । विविधता हाम्रो पहिचान हो र विविधता कायम राखेरै शोषण र विभेदको अन्त्य गर्न हामीले विवेक लागाउनु श्रेयस्कर हुन्छ । आफ्नो मौलिकता र रैथाने संस्कृतिबाट विच्छिन्न, आर्थिकरूपमा विपन्न, शिक्षाको प्रकासबाट बञ्चित, समाजको मूलप्रवाहीकरणबाट सीमान्तकृत बाहुनको जात माला लाउने कि, कन्दनी बन्ने हो ? शिल्पी समुदायको परम्परागत प्रविधि, ज्ञान र शिल्पको गुणात्मक विकास गर्न सक्ने हो भने शिल्पी/दलित समुदाय समाजमा ब्राह्मणको भन्दा सुदृढ सामाजिक हैसियतमा पुग्ने सुनिश्चित छ ।
जातीय विभेदको समस्या वास्तविकताभन्दा बढी प्रचार गरिएको छ । जातीय वर्गीकरणको सन्दर्भ र प्रसंग आधुनिक समाजमा नमिल्दा अलि अनौठो र उदेकलाग्दो देखिएको मात्रै हो । वैभिन्य जातजाति र जनजातिबीचको भिन्नताको तिललाई पहाड बनाउने तर पारस्परिकताको महासागर नदेख्ने प्रवृत्ति अझ खतरनाक छ । जातजाति र जनजातिको बहसमा नश्लीय पहिचानले प्रश्रय पाउने तर साँस्कृतिक पहिचान नजरअन्दाज गर्ने प्रवृत्ति अझै कहालीलाग्दो बन्दैछ ।
जातीय विभेद तथा विभेदमा आधारित छुवाछूत बाहिरियाहरूको चलखेल नहुँदो हो त दसकौँपहिला नै उन्मुलन र अन्त्य हुन्थ्यो । तर जातीय घृणा र नश्लीय हिंसा मच्चाएर नेपाली समाजको आधारशिला उजाडेर, समाजलाई भुइँफुट्टा तुल्याउन क्रियाशील विदेशी-विधर्मी प्रतिमानका भाडाका स्यालहरूको पहिचान गर्न ढिला भयो भने 'न मर्छ सर्प, न रहन्छन् लाठी' । भावनामा बहकिएर शत्रुको वैचारिक जालमा परेर समाजका समस्या किटान गर्न अबेर नगरौँ र समस्याहरूको स्थितिगत्यात्मक समाधान गर्न स्वकृयात्मकरूपमा अग्रसर पनि बनौँ ।
विधर्मीहरूले भनेजस्तो जातीय विभेद जन्मको मात्रै अथवा वंशको मात्रै अथवा धर्मको मात्रै अथवा आर्थिकमात्रै अथवा अन्य कुनै एउटा मात्रैको कारणले समाजमा व्याप्त भएको हैन । यसमा अन्य धेरै कारणहरू जिम्मेवार छन् । चेतना नै स्वीकार्य परिवर्तनको पूर्वाधार हो र त्यो व्यक्तिको दिमागबाट सुरु हुन्छ । राज्यको संरचना, सामाजिक साँस्कृतिक गति, जीवनको उद्देश्य र मानवीय मनोविज्ञान नै विचलित तुल्याइदिएर, विदेशी-विधर्मी प्रतिमानको रजाइँ चलेका बेला आफ्ना र पराइ छुट्याउन गाह्रो पक्कै छ तर असम्भव छैन । राज्यको अभिभावकीय भूमिका सिमान्तकृत जाति, जनजाति तथा प्रादेशिक जनसमुदायको सशक्तीकरण गरेर सामाजिक मूलप्रवाहीकरणमा ल्याउने हो भने सुद्र/दलित/शिल्पी भनिएको समुदाय त्यही साँस्कृतिक पहिचानमा गौरव गर्न सक्ने स्थिति हुन्छ र यसो हुनुपर्छ ।
वर्षौँदेखि जरा गाडेर बसेको सामाजिक विकृति यति सजिलैसँग निर्मूल हुँदैन, यो पक्का हो । तर निर्मूल हुँदैन भनेर प्रयास नै नगर्ने भन्ने पनि हुन्छ र ? अक्सिजन दिन्छ भनेर बनमारा झारलाई गोडमेल गरेर हुर्काउने कि, देवर्षि र पितृ ऋण तिर्न स्वकृयात्मक अग्रसर बन्ने हो ? हो नेपाली समाजमा संकीर्णता, पछौटेपन, परनिर्भरता हुनु समस्या र झमेला नमानौँ । त्यस्तो स्थिति अवसर र सम्भावना पनि हो । माग्न हात फैलाएरै जीविका चल्छ भनेर सोच्ने नेतृत्वलाई राज्यको बागडोर सुम्पेर न हामी समस्याहरूको चाङ घटाउन सक्छौँ न कपुतन्त्रीय फोहोरको डंगुर सफा गर्न सक्छौँ । केन्द्रीय नेतृत्व त स्वेच्छाचारी छँदै छ । स्थानीय नेतृत्व पनि समाज रूपान्तरणमा हैन निकट निर्वाचनको रणनीतिमा केन्द्रित छन् । चेतनाको स्तर सबैको उच्च भएको भए आज विकृति/विसंगतिविरुद्ध हैन समाजको चौतर्फी विकासका लागि सोच्न व्यस्त हुनेथियौँ ।
यहाँ समस्या देखाएर राजनीतिक लाभ लिनेहरीको भीड छ । समस्या समाधानका लागि सत्तालिप्त भएका राजनीतिक दलहरू क्रियाशील छैनन् । विरोध गर्नेहरू पनि प्रतिकृयात्मक र प्रतिशोधमै तल्लीन छन् । समस्याको गाम्भीर्यतालाई बुझेर समाजको प्रवर्द्धन गर्नेहरू यिनै विकृति र विसंगतिकै बीचमा रुमल्लिएका छन् । 'फूलको आँखामा फूलै संसार' भनेजस्तै विकृति र विसंगतिमात्रै खोज्ने हो भने समस्याका पहाडहरू हाम्राअघि देखा पर्दछन् । अझै नियालेर हेर्ने हो भने 'कालो बादलमा चाँदीको घेरा' पनि देखिन्छ । इतिहासमा सभ्यता/असभ्यता, प्रेम/घृणा, शान्ति/द्वन्द्व यसैगरी बित्यो । प्रत्येक परिवर्तनले नयाँ वैचारिक शक्तिलाई सत्ता र शक्तिमा स्थापित गर्दछ ।
हाम्रा इतिहासका विभिन्न कालखण्डमा कुनै शक्ति निरंकुश बन्यो होला तर निरंकुशता सबै समाजका पर्याय हुन् । 'इतिहासबाट पाठ सिक्ने हो तर इतिहासको बन्दी बन्ने हैन ।' निरंकुशता ले नै विकृति संस्थागत गर्यो भनेर इतिहासलाई लल्कारेर आज हामीले पाएको अवसरलाई आरोपप्रत्यारोप, प्रतिकृयात्मक बनेर, एकाअर्काप्रति घृणा संस्थागत गरेर अमूल्य समय खेर फाल्ने हो र ? १२- सामाजिक प्रक्रियामा स्वाभाविक ढङ्गले स्तरीकरण हुन्छ । वर्ग निर्माण हुन्छ र शोषणको अभ्यास हुन्छ, स्वाभाविक हो । त्यो जन्मजात हुनुहुँदैनथ्यो । हलेदो जति कोट्याए पनि पल्टिने हलेदो नै हो । आज हामीमा चेतना आयो । विकृति र विसंगतिविरुद्ध ऐक्यबद्ध छौँ । समस्या पहिचान र समाधानका उपायमा सबैको स्वामित्व छ । जाग्नेहरूले नै हो अरूलाई जगाउने । आरोपप्रत्यारोपण गरेर समस्यालाई जटिल नबनाऊँ । सुन्दर भविष्य निर्माण गर्नुपर्ने भएकाले प्रेम, सद्भाव, समन्वयात्मकता, सहृदयता र मैत्रीलाई आधार बनाइनुपर्छ । घृणा, प्रतिद्वन्द्वीता र निषेधबाट समस्या खोज्ने हो भने संस्थागत हुने फेरि निरंकुशता नै हो ।
राजनीतिक जीवन आदर्शमय कहिल्यै भएन । नैतिकरूपमा निखारिएको कहिलै कोही रहेन । भरोसायुक्त समय कहिलै छैन । यस्तै जालझेल, खुरापाती र षडयन्त्रयुक्त राजनीति र दलीय भागबन्डामै हामीले चित्त बुझाएर बस्ने कि, विद्यमान अवस्थाबाट स्थितिगत्यात्मक बनेर समाजका विद्यमान समस्याहरूको समाधान गर्न स्वकृयात्मक अग्रसर बन्ने हो ?
सकारात्मक विचार फलाकेर, भीडको मनोविज्ञान हेरेर अनि चिप्ला कुरा गरेरमात्र समाजको परिवर्तन र रूपान्तरण सम्भव छैन । युग सुहाउँदो दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण, कार्यपद्धति, संगठन संरचना, संगठन पद्धति र लक्ष्य हासिल गर्न निस्काम कर्म अपरिहार्य हुन्छ । नेपाली समाजमा विद्वान, विज्ञ र दक्ष जनशक्ति नभएको हो र ? वर्तमानमा समस्या नै समस्या देख्नेहरूलाई आजका समाजका विकराल समस्याहरू हिजो रोपिएका विष वृक्षको फल हो भन्ने लाग्छ कि लाग्दैन ? समाजमा समस्यामात्रै देख्नेहरूले हिजोआज के रोप्दैछन् र केको अपेक्षा राख्दैछन् ? गम्भीर भएर सोचौँ त !
जरोकिलो महाअभियानको निर्माण कपुतन्त्रको फोहोरको डंगुर फालेर, सहृदयताको कल्पवृक्ष रोप्नका लागि हो । राज्यराष्ट्र राजनीति तन्त्रको व्यावहारिक कार्यान्वयनसँगै विदेशी-विधर्मी प्रतिमान प्रतिरक्षात्मक अवस्थामा पुग्ने र नेपालमै उत्पत्ति र केन्द्रीयता भएका वैदिक सनातन सभ्यताहरूको निर्णायकत्व स्थापित हुने कुरामा आशा राखौँ र आत्मविश्वासी बनौँ ।
अघि बढौँ, यो युग हाम्रो हो ।
नुमनाथ प्याकुरेल मौलिक जरोकिलो पार्टीका सर्वोच्च परिषद् सदस्य हुनुहुन्छ ।