असार १, २०८० शुक्रबार

वालिङ, १ असार (रासस) ः धार्मिक एवम् पर्यापर्यटकीय महत्वको डहरे देउराली प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । स्याङ्जा र पर्वतको सीमामा अवस्थित स्याङ्जाको अर्जुनचौपारि गाउँपालिका–५ मा रहेको डहरेको महत्वका बारेमा प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको हो । 

समुद्र सतहदेखि दुई हजार दुई सय ५० मिटर अग्लो पहाडको टाकुरोमा रहेको डहरेको शक्ति र महत्व तथा यहाँको पर्यटकीय अवस्थाका बारेमा अरूलाई जानकारी गराउन नसक्दा महत्व भएर पनि ओझेलमा परेको मोक्षद्वारी बालसिद्ध योगाश्रम डहरे स्याङ्जा पर्वतका कोषाध्यक्ष चन्द्रप्रसाद शास्त्रीले बताउनुभयो ।

“अन्य पहाडहरुभन्दा अग्लो स्थानमा अवस्थित शिवालय मन्दिर, देवीको मन्दिर, गुफाहरु यहाँका धार्मिक महत्वसँग जोडिएका छन्”, उहाँले भन्नुभयो, “धार्मिकसँगै पर्यापर्यटकीय, शान्त, मनोरम दृश्य तथा हिमशृङ्खलाहरुको मनमोहक छटाले पर्यटकीय सम्भावना बोकेको छ ।”

अठार पुराणमध्येको स्कन्द पुराणमा नीलगिरि पर्वत, सिद्धेश्वर महादेव र कालीशक्ति डहरेको नाम उल्लेख भएको उहाँले दाबी गर्नुभयो । परापूर्वकालमा यहाँ डहरा नाम गरेका ऋषिले तपस्या गरेको बताइएको छ । डहरा ऋषिले तपस्या गरेको स्थान भएकाले यसको अपभं्रश भई डहरे हुन गएको हो ।

विसं १९९७ मा तत्कालीन पर्वतको लुङ्खुका षडानन्द अधिकारी (बालब्रह्मचारी) पहराभित्र बसेर तपस्या गर्नुभएको थियो । विसं २०२४ मा उहाँको देहवसान भएसँगै सोही ठाउँमा गाडेर अन्त्येष्टि गरिएको थियो । जहाँ गाडियो सोही ठाउँमा शिवालय निर्माण गरिएको डहरे देउरालीका बारेमा जानकारसमेत रहनुभएका कोषाध्यक्ष शास्त्रीले बताउनुभयो ।

दैनिक पूजाआजा तथा भौतिक पूर्वाधारहरु निर्माण गर्न यहाँ २०४३ सालमा धनधान्याञ्चल महायज्ञ गरी दान सङ्कलन गरिएको मन्दिरका तपसी पशुपत्यानन्द गिरीले बताउनुभयो । धनधान्याञ्चलबाट सबै खर्च कटाएर रु ५० हजार बचत भएको थियो ।

“बचत भएको रकमबाट मन्दिरका नाममा रहने गरी १० हलको खेत किन्यौँ”, उहाँले भन्नुभयो, “सुरुमा उक्त खेत कमाई गर्नेहरुको प्रतिस्पर्धा हुने गरे पनि २०६२ देखि बाँझो रहेको छ ।” मन्दिरको खर्च व्यवस्थापन दैनिक हुने पूजाआजा तथा दक्षिणाहरुबाट गरिँदै आइएको छ ।  

विशेषगरी नवदुर्गा, शिवरात्रि, बाला चतुर्दशीजस्ता चाडपर्वसहित हरेक मङ्गलबार र शनिबारका दिन यहाँ दर्शनार्थी आउने गरेका अध्यक्ष बाबुराम शर्माले बताउनुभयो ।
“यस स्थानको धार्मिक, ऐतिहासिक एवम् पर्यापर्यटकीय दृष्टिले निकै महत्व हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ”, अध्यक्ष शर्माले भन्नुभयो, “यहाँसम्म आइपुग्न सहज पदमार्ग, भौतिक पूर्वाधारहरुको विकास गर्ने क्रममा रहेका छौँ ।”

बिस्तारै यहाँ आन्तरिक र बाह्य पर्यटकको रोजाइको स्थलका रुपमा विकसित गर्ने गरी योजना अगाडि बढ्दै गरेको छ । डहरे देउरालीको महत्व र यहाँको शक्तिका बारेमा प्रचारप्रसार गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । दर्शनार्थीले मन्दिरमा पुगेर आफूले मागेको वर पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

स्याङ्जा र पर्वतको सङ्गमस्थल स्याङ्जाको अर्जुनचौपारी–५ मा रहेको डहरे धार्मिक, ऐतिहासिक क्षेत्र मात्रै नभई प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको स्थल पनि हो । अग्लो पहाडको चुचुरामा रहेकाले पनि त्यहाँबाट स्याङ्जाका अधिकांश भागहरुसहित पर्यटकीय नगरी पोखरा, कुस्मा, बाग्लुङलगायत जिल्लाका बजार, हिमशृङ्खलाहरु, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य यहाँबाट देख्न सकिन्छ ।