असार ३, २०८० आइतबार

वालिङ, ३ असार (रासस) : स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर सङ्कलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत फोहर सङ्कलन अभियान थालिएको हो ।

    ‘बिट प्लास्टिक पोलुसन’ भन्ने अभियानसहित गाउँपालिकावासी तथा विद्यार्थीले वर्षभरिको प्लास्टिकजन्य फोहर सङ्कलन गरी तौलको आधारमा पुरस्कार दिने योजना अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । “प्लाष्टिकबाट हुने प्रदूषणले हाम्रो समुदायलगायत समग्र विश्व नै आक्रान्त पारिरहेको छ” उहाँले भन्नुभयो, “गाउँपालिकाभित्रका प्रत्येक विद्यार्थीलाई घर तथा घर वरपरको प्लास्टिकजन्य फोहर सङ्कलन गर्न आह्वान गरेका छौँ । विद्यार्थीले एकवर्षको अवधिमा सङ्कलन गरेको फोहरको तौलको आधारमा आगामी वातावरण दिवसमा पुरस्कार दिनेछौँ ।”

    पालिकाका अध्यक्ष सुवेदीका अनुसार अभियानमा गाउँपालिकाभित्रका २६ सामुदायिक विद्यालय र चार संस्थागत विद्यालयका तीन हजार विद्यार्थी संलग्न छन् । “कक्षा १ देखि १२ सम्मका विद्यार्थीले विद्यालयमा होस् या समुदायमा आफूले जति सक्छन् त्यति नै प्लास्टिकजन्य फोहर सङ्कलन गरी राख्छन्” उहाँले भन्नुभयो, “उनीहरुले सङ्कलन गरेको फोहरको तौल गरी पुरस्कारस्वरुप रकम उपलब्ध गराउँछौँ ।” 

    गाउँपालिकाले सबै विद्यार्थीको नाममा खाता सञ्चालन गरी सोही खातामा रकम जम्मा गरिदिने तयारी गरिरहेको उहाँको भनाइ थियो ।

    विद्यालयमा कक्षागतरुपमा विद्यार्थीले प्लास्टिकजन्य फोहर बोरामा सङ्कलन गरी राख्ने र त्यसको व्यवस्थापन कक्षा शिक्षक तथा विद्यालयका प्रधानाध्यापकले गर्ने व्यवस्था मिलाइएको छ । “विद्यार्थीले सङ्कलन गरेको प्लास्टिकजन्य फोहर गाउँपालिकाले तौल गरेर खरिद गर्नेछ” पालिकाका अध्यक्ष सुवेदीले भन्नुभयो, “उक्त फोहरलाई गाउँपालिकाले वर्गीकरण गरी पुनः प्रयोग वा बिक्रीको ब्यवस्था मिलाउने छ ।”

    गाउँपालिकाले यो अभियान थालेसँगै विद्यार्थी उत्साहित भएर प्लास्किजन्य फोहर सङ्कलनमा लागेका फेदीखोला–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक शोभाकान्त शर्माले बताउनुभयो । “विद्यालय परिसरभित्र कतै प्लास्टिकजन्य फोहर देखे पनि बेवास्ता गर्ने विद्यार्थी अहिले नभनिकन टिप्न थालेका छन् ।” उहाँका अनुसार विद्यार्थीले फोहर  कक्षागतरुपमा राखिएको बोरामा सङ्कलन गर्ने गरेका छन् । 

    विद्यालयका कक्षा १ देखि १२ सम्म विद्यार्थीले कक्षागतरुपमा छुट्टाछुट्टै बोरामा फोहर सङ्कलन गर्दै आएका छन् ।