जेठ २१, २०७८ शुक्रबार

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर–७२ जहाजले तुम्लिङटार विमानस्थल परीक्षण उडान गरेको छ।

यसअघि एटीआर–४२ र बिचक्राफ्ट जहाजबाट उडान गर्दै आएको बुद्धले शुक्रबार एटीआर–७२ जहाजबाट उक्त विमानस्थलमा परीक्षण उडान गरेको हो।

बुद्धले नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी, एयरका अपरेशन तथा टेक्निकल टिमले परीक्षण उडान गरेको जनाइएको छ।

७२ सिटे जहाजबाट उक्त विमानस्थलमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने अपेक्षा गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए।

उनका अनुसार यसअघि पाँच हजार ८ सय रुपैयाँ भाडा रहेको तुम्लिङटारमा ठूलो जहाजबाट उडान सुरु भएसँगै ३ हजार ५ सयसम्म हुने अनुमान गरिएको छ।

तुम्लिङबाटर विमानस्थल एटीआर–७२ जहाजको सफल उडान–अवतरण भएको पहाडी क्षेत्रको पहिलो विमानस्थल रहेको जनाइएको छ।

हाल तुम्लिङटार विमानस्थलमा बुद्धले ४२ सिट क्षमताको एटीआर जहाज र यती एयरलाइन्सले २५ सिट क्षमताको जेटस्ट्रिम जहाजबाट उडान गर्दै आएका छन्। कोरोना महामारी सकिएर नियमित उडान सुरु भएसँगै उक्त विमानस्थलमा ७२ सिट क्षमताका जहाजबाट उडान सुरु हुने बुद्धले जनाएको छ।

नौ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र दुई वटा बिचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक १०० उडान गर्दै आएको छ। बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। काठमाडौँ, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ।