'कुटुमा कुटु सुपारी दाना' बोलको गीतले डिजिटल प्लेटफर्मको युट्युबमा अझै भ्यूज कमाइरहेको छ ।
सन् २०१७ मा रिलिज भएको यस गीतलाई दर्शकले अहिले पनि उत्तिकै रुचाइरहेका छन् । नेपाली चलचित्र ‘दुई रुपैयाँ’ मा समावेश यस गीतलाई युट्युबमा १५ करोड पटक हेरिएको छ । यो गीत अहिले पनि हरेकजसो कार्यक्रममा बज्ने गरेको छ भने टिकटकमा लोकप्रिय बनिरहेको छ।
राजनराज शिवाकोटीको शब्द तथा संगीतमा तयार भएको यस गीतमा राजनराज शिवाकोटी, राजन ईशान र मेलिना राईले स्वर दिएका छन् । गीतको एरेन्जर राजन ईशानले गरेका छन्। करिब ६ मिनेट लामो गीतमा चलचित्र दुई रुपैयाँकी नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले अभिनय गरेका छन् ।
पछिल्लो समय गीतसंगीतको मापन युट्युबमार्फत हुँदै आएको छ । हरेक गीतले प्राप्त गर्ने युट्युब भ्युजका आधारमा लोकप्रियता र सफलताको मापन गरिन्छ ।