असार २०, २०८० बुधबार

काठमाडौँ– महिलाको पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ ।

नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिए ।

सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने उनको भनाइ छ । अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने भएकाले कसरी लगाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागिएको हो ।

एक नयाँ अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।